सिरियामा विषाक्त ग्यास आक्रमणमा मर्नेको संख्या ७२ पुग्यो रुसी प्रतिवेदन अस्वीकृत, सुरक्षा परिषद्को बैठक आह्वान



बेरुत, (एजेन्सी)
सिरियाको इडलिब शहरमा मंगलबार भएको विषाक्त रसायनिक ग्यास आक्रमणमा मृत्यु हुनेको संख्या ७२ पुगेको तथा मृत्यु हुने मध्ये २० जना बालबालिका र १७ जना महिला रहेको बेलायतस्थित अधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइटसले बुधबार जनाएको छ।

अझै केही व्यक्ति बेपत्ता भएकाले मृत्यु हुनेको संख्या पनिm बढ्न सक्ने सो संस्थाले जनाएको छ। सिरियाली विद्रोहीको नियन्त्रणमा रहेको इडलिब क्षेत्रको खान सेइखुनमा हवाइ जहाजबाट विषालु ग्यास प्रहार भएको बताइएको छ।

मंगलबार बिहानै भएको रासायनिक आक्रमणको घटनामा सिरियाको राष्ट्रपति बसार अल असाद समर्थित सेनाको हात रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइटसले आशंका गरेको छ।

यस घटनाको सर्वत्र विरोध भएको छ। देशभित्र कै प्रतिपक्षी दल र अन्य देश तथा अन्तर्राष्ट्रिय संघ संस्थाले पनि घटनाको निन्दा गरेका छन्। संयुक्त राष्ट्रसंघ, बेलायत, फ्रान्सले विषालु ग्यासको आक्रमण अमानवीय र क्रुर भएको संज्ञा दिँदै निन्दा गरेका हुन्। संयुक्त राज्य अमेरिकाले पनि सो विषाक्त ग्यास आक्रमणमा सिरियाली सरकारको हात रहेको आरोप लगाएको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि उक्त आक्रमणमा बसर अल असदकै सरकार संलग्न रहेकोमा आफू विश्वस्त रहेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै विदेशमन्त्री रेक्स टिलर्सनले पनि आक्रमणको चर्को आलोचना गरेका छन्।

सिरियाकै प्रतिपक्षी दलले घटनामा राष्ट्रपति बसर अल असद नेतृत्वको सरकारको संलग्नता रहेको भन्दै छानविन गर्न संयुक्त राष्ट्रसंघसँग आग्रह गरेको छ। यसबारे सुरक्षा परिषद्को बैठक बस्ने अनुमान गरिएको छ।

त्यसै गरी फ्रान्सले यसबारे सुरक्षा परिषद्मा छलफल हुन जरुरी देखिएकाले तत्काल बैठक बोलाउन राष्ट्रसंघसमक्ष गरेको छ। तर सिरियाली वरिष्ठ सैनिक अधिकारीहरूले भने घटनामा सेनाको संलग्नता नरहेको बताएका छन्।

यसै गरी यो रसायनिक विषाक्त ग्यास सिरियाका विपक्षी लडाकूहरूको हतियारबाट निस्केको भन्ने रुसी प्रतिवेदनलाई अन्य मुलुकले अस्वीकार गरेका छन्। संयुक्त अधिराज्यको विदेश मन्त्रीले एकजना लडाकू कमान्डर र अर्का एक हतियार विशेषज्ञले प्राप्त प्रमाणले सिरियाली सरकारी फौजको आक्रमणप्रति नै केन्द्रित रहेको बताएका छन्।

यस आक्रमणको कारण ब्रसेल्समा भइरहेको सिरियाली विषयक सम्मेलन ओझेलमा परेको छ। उक्त सम्मेलनमा सत्तरीवटा दातृराष्ट्र युद्धग्रस्त सिरियामा मानवीय राहत सहयोग उपलब्ध गराउनेबारे छलफल गरिरहेका छन्। त्यहाँबाट संयुक्त राष्ट्र संघको आपतकालीन राहत संयोजक स्टेफन ओ व्रियानले बुधबार राति नै सो सम्मेलनको विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने भएका छन्।

सन् २०१३ को अगस्टमा पनि सिरियाको राजधानी दमास्कसका लडाकू नियन्त्रित उपनगरहरूमा सिरियाली सरकारी फौजले विषाक्त रसायनिक ग्यास सरिन भरिएका रकेटहरू प्रहार गरेको पश्चिमी शक्ति राष्ट्रहरूले आरोप लगाएका थिए।
सो घटनामा सयौं व्यक्तिको ज्यान गएको थियो। छ वर्ष लामो सिरियाली गृहयुद्धमा २ लाख ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ। तर अझै युद्ध अन्त्यका लागि कुनै राजनीतिक संकेत देखिएको छैन।

प्रतिक्रिया दिनुहोस्