साल्ट ट्रेडिङले कर्णालीको सिमी र फापर बेच्दै



हेमन्त जोशी, काठमाडौं

खाद्य संस्थानले कर्णाली अञ्चलबाट संकलन गरेको सिमी र फापरलाई साल्ट ट्रेडिङले बिक्री गर्ने भएको छ। खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार कर्णालीमा उत्पादन भएको ४ सय क्विन्टल फापर र २ सय ५० क्विन्टल सिमी साल्ट ट्रेडिङले बिक्री गर्न जिम्मा दिइएको हो।

कर्णाली क्षेत्रमा उत्पादन भएको वस्तुलाई बजार प्रवद्र्धन गर्ने उद्धेश्यले संस्थानले डोल्पाबाहेक कर्णालीका सबै जिल्लामा कृषि उपज वस्तुको संकलन केन्द्रहरू स्थापना गरेको छ। नेपाल खाद्य संस्थानका शाखाले कर्णालीका ५ वटा जिल्लामा सिमी प्रतिकिलो १ सय १० रुपियाँ देखि १ सय ३५ रुपियाँसम्म र फापर सबै जिल्लामा प्रतिकिलो ८५ रुपियाँका दरले खरिद गरेको थियो। खाद्य संस्थानका अनुसार ढुवानी र प्याकिङ खर्च जोडेर प्रतिकिलो सिमी १ सय ५० रुपियाँ र फापर ९० रुपियाँ निर्धारण गरेको छ। साल्ट ट्रेडिङले बिक्री गर्दा पनि संस्थानले निर्धारण गरेको मूल्यसूची अनुसार नै बिक्री गर्नेछ।

खाद्य संस्थानले कर्णाली अञ्चलमा उत्पादिन फापर र सिमीको बजार प्रवद्र्धन गर्ने उद्धेश्यले करिब २ करोड रुपियाँभन्दा बढी रुपियाँको सिमी र फापर खरिद गरेको थियो। प्रवक्ता सापकोटाका अनुसार कर्णाली अञ्चलका डोल्पा बाहेक अन्य ४ वटा जिल्लाबाट ८ सय क्विन्टलभन्दा बढी सिमी र साढे ३ सय क्विन्टलभन्दा बढी परिणामको फापर खरिद गरेको थियो।

खाद्य संस्थानको वितरण केन्द्रले न्यून परिणाममा मात्र बिक्री गरेपछि ती वस्तु साल्ट ट्रेडिङले उपभोक्तालाई बिक्री गर्ने लागेको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिनुभयो। खाद्य संस्थानले प्रभावकारी रूपमा बिक्री गर्न नसकेर भण्डारणमै थन्किएपछि ट्रेडिङमार्फत् वितरण गर्न लागिएको हो। खाद्य संस्थानबाट पाएको फापर र सिमीलाई ट्रेडिङले उपत्यकाको ४ वटा र बनेपामा एउटा वितरण केन्द्रबाट उपभोक्तामाझ पुर्याउन लागेको हो। कालीमाटी, सतुंगल, भक्तपुर, कोटेश्वर र बनेपामा गरी पाँचवटा स्थानका बिक्री डिपोमार्फत् बिक्री हुने प्रवक्ता भण्डारीले बताउनुभयो।

यसअघि कर्णालीका किसानले उत्पादन गरेका वस्तुलाई बजारमा प्रवद्र्धन गर्ने उद्धेश्यले संस्थानले आफैं बिक्री गर्ने गरी खरिद गरेको थियो। बजार पहँुच नभएकै कारणले किसानको उत्पादन खेर नजाओस् भन्ने उद्धेश्यले ती जिल्लाबाट वस्तु खरिद गरेको संस्थानका प्रवक्ता शंकर सापकोटाले बताउनुभयो। संस्थानले हाल सीमित मात्रामा खरिद गरे पनि विस्तारै खरिदको दायरा बढाउँदै लैजाने उहाँले बताउनुभयो। यसरी संस्थानबाटै खरिद र वितरण गर्दा बिचौलियाहरू निरुत्साहित भएर किसानले पनि राहत पाएको प्रवक्ता सापकोटाले बताउनुभयो।

कर्णाली क्षेत्रमा उत्पादित वस्तुको बजार प्रवद्र्धन र बिस्तारका लागि गत आर्थिक वर्षमा सरकारले १ करोड रुपियाँ विनियोजन गरेपछि संस्थानले उवा, फापर, सिमीलगायतका वस्तु खरिद गरेर काठमाडौंमा बिक्री गरेको थियो। हाल खाद्य संस्थानले उपत्यकाका लागि बाग्मती अञ्चल कार्यालयको गोदाम थापाथलीबाट १ र २ किलोग्रामका प्याकेट बनाएर फापर र सिमी बिक्री गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्