सरकारी गाडीमा दलको कार्यक्रममा मन्त्री जान नपाउने



काठमाडौँ, २३ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सहजता होस् भन्ने उद्देश्यले निर्वाचन आचारसंहिता पालना सम्बन्धमा थप नीतिगत निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले सरकारका मन्त्रीले राजनीतिक दलले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा सरकारी सवारीसाधनको प्रयोग गर्न नपाइने नीतिगत निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

यसअघि आयोगले मन्त्रीलाई जिल्ला सदरमुकामसम्म मात्र जान पाउने व्यवस्था गरेकामा पछिल्लो निर्णयले त्यसलाई केही हदसम्म खुकुलो र सहज तुल्याएको छ ।

बैठकले सरकारका मन्त्रीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि कुनैपनि राजनीतिक कार्यक्रममा भाग लिन नपाउने गरी अर्को नीतिगत निर्णय पनि गरेको छ ।

निर्वाचनमा भाग लिने उम्मेदवारले आगामी वैशाख १६ गते उम्मेदारी दिने तथा आयोगले उम्मेदवारलाई वैशाख १९ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । यसले आचारसंहिता पालना थप प्रभावकारी हुने आयोगले विश्वास लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्