हिमाल, मनिष र क्षितीज अगाडि



नेपाल समाचारपत्र
काठमाडौं
ललितपुरमा जारी कामना सहकारी चेस प्रतियोगितामा हिमाल लामा, मनिष हमाल र क्षितीज भण्डारी अगाडि रहेका छन् ।

मंगलबार पाचौं चरणका खेल सम्पन्न हुँदा तीनै जनाले साढे चार अंक जोडेर संयुक्तरूपमा अग्रता लिएका हुन् । चौथो चरणमा फिडेमास्टर मनिष हमालसँग बराबरी खेलेका गोल्डेन गेटका हिमालले पाचौं चरणमा श्रेयङकर साकोसका सुमित पन्तलाई हराए । अर्थ बहुउद्देश्यीय सहकारीका मनिषले पाचौं चरणमा कामना साकोसका क्यान्डिडेटमास्टर सजिन महर्जनलाई हराए । त्यसै गरी जनता साकोसका क्यान्डिडेटमास्टर क्षितीज भण्डारीले चौथोमा श्रमजीवी साकोसका विकास कुलुजु तथा पाचौंमा मखन चेस क्लबका सुमन लामामाथि विजय हात पारे ।

क्यान्डिडेटमा स्टारद्वय मदनकृष्ण कायस्थ तथा केशव श्रेष्ठ, सुरवीर लामा, बद्रीलाल नेपाली, रविन्द्र शाक्य, राजेन्द्रप्रसाद श्रेष्ठ, पुण्यमान कर्माचार्य समान ४–४ अंकमा छन् । नेकोस चेस एकेडेमीका मदनकृष्ण चौथो चरणमा सुमित पन्तसँग बराबरीमा रोकिए भने पाचौंमा मखन चेस क्लबका फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठलाई पराजय चखाए । चौथो चरणमा संकटा साकोसका नवीन तण्डुकारलाई हराउन सफल गोल्डेन गेटका केशवले पाचौं चरणमा बद्रीलालसँग अंक बाँडे ।

सुमित पन्त, कामना साकोसका सजिन महर्जन, मखन चेस क्लबका सुमन लामा, संकटा साकोसका नविन तण्डुकार, नेसनल डेभलपमेन्टका दीर्घराज जोशी समान ३ दशमलब ५ अंकमा रहेका छन् । डायनामिक चेस एकेडेमीका भुपेन्द्र निरौला तथा विजय मगर, मखन क्लबका सुजेन्द्रप्रसाद श्रेष्ठ, बाराका श्यामलाल दास, श्रमजीवी साकोसका विकास कुलुजु, काठमाडौंका भगवतीप्रसाद शर्मा, तनहुँका सविन चन्द्र घिमिरे, नेसनल डेभलपमेन्टका सुनिलबहादुर कोइराला तथा सुदर्शन प्रधान, सादना साकोस झापाका राजन सुवेदी, अनिश कुमार सुवेदीलगायतको समान ३–३ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्