कराते टोली अस्ट्रेलिया र अमेरिका जाँदै



काठमाडौं, (नेस)
अस्ट्रेलियाको सिडनी र अमेरिकाको लस भेगासमा हुने दुई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दै छ ।

अप्रिल ७ देखि ९ तारिखसम्म हुने अस्ट्रेलिया ओपन करातेको पुरुष ६० केजीमा विजय लामा र ७५ केजीमा श्याम कार्कीले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ६८ केजीमा सुस्मिता तामाङले नेपालको चुनौति पेश गर्नेछिन् । टिम व्यवस्थापकमा रामकृष्ण श्रेष्ठ (बोस) र प्रशिक्षकमा जनकसिंह खड्का छन् । जनकले पुरुष ६७ केजी तौलसमूहमा पनि प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै अप्रिल १२ देखि १६ तारिखसम्म हुने युएस ओपन करातेमा विजय र जनकसहित ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी सुनील लामाले पनि खेल्नेछन् । हाल न्युयोर्कमा रहेका सुनीलले पुरुष ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने बताइएको छ । रामकृष्णले टिम व्यवस्थापक र प्रशिक्षक दुवै भूमिका निर्वाह गर्नेछन् । टोली अप्रिल ११ तारिख अस्ट्रेलियाबाट लस भेगास जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्