चीनको सहयोग नरहे पनि कोरियाली समस्या हल हुनेः ट्रम्प



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले चीनको सहयोग रहे वा नरहे पनि उत्तर कोरियाको आणविक खतरा समाधान गर्ने बताएका छन्। संयुक्त अधिराज्यको अखबार दि फिनान्सियल टाइम्सलाई अन्तर्वार्ता दिने क्रममा उनले बताएका छन्– ‘यदि चीनले उत्तर कोरियाली मामिला समाधान गरेन भने हामी गर्नेछौं। मेरो भन्नु यत्ति नै हो।’

एक्लो प्रयास सफल होला त भनी सोधिएको प्रश्नको जवाफमा उनले पूर्ण सफलता मिल्ने दाबी गरेका छन्। आगामी साता चीनका समकक्षी सि जिन्पिङसँग भेटवार्ता गर्ने उनको कार्यक्रम रहेको छ।

ट्रम्पले भनेका छन्– ‘उत्तर कोरिया चीनबाट निकै प्रभावित रहेको छ। चीनले यस मामिलामा हामीलाई मदत गर्न वा नगर्न सक्छ। यदि चीनले सहयोग गर्यो भने त्यो उसका लागि पनि राम्रो हुनेछ। तर यदि चीनले मदत गरेन भने कसैका लागि पनि राम्रो हुनेछैन।’ तर एकपक्षीय कारबाही हुनेबारे अन्य थप विवरण दिन भने अस्वीकार गरेका छन्। बिहीबार ट्रम्प र जिन्पिङबीच अमेरिकाको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा महत्त्वपूर्ण भेटवार्ता हुन लागेको हो।

केही समययता उत्तर कोरियाले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले लगाएको नाकाबन्दीलाई बेवास्ता गर्दै क्षेप्यास्त्र र आणविक विकास कार्यक्रमलाई तीव्रता दिँदै आएको छ। प्योङयाङले अन्ततः अमेरिकाको मुख्य भूमिसम्म मार हान्न सक्ने लामो दूरीको क्षेप्यास्त्र विकास गर्ला भनी अमेरिका निकै चिन्तित रहेको छ।
गत मार्चमा एसियाको भ्रमणको क्रममा अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले उत्तर कोरियामाथि सैनिक कारबाही गर्ने विकल्प पनि रहेको बताएका छन्। सो भ्रमणको एक महिनाअघि अमेरिकाका रक्षा मन्त्री जेम्स म्याटिसले यदि प्योङयाङले कुनै पनि आणविक हतियार प्रयोग गरेको खण्डमा डरलाग्दो जवाफ दिइने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्