‘मल्टी भिसा’ तत्काल उपलब्ध नहुने



नेपाल समाचारपत्र
रसुवा
रसुवागढी नाकाबाट व्यापार गर्ने जिल्ला बाहिरका व्यापारी तथा सवारी चालकलाई उपलब्ध गराउन लागिएको ‘मल्टी भिसा’ तत्काल उपलब्ध नहुने भएको छ।

वाणिज्य मन्त्रालयका अनुसार जिल्ला बाहिरका नागारिकलाई चीन प्रवेशका लागि चीन सरकारले दिन लागेको मल्टी भिसाको नेतृत्व लिनका लागि निजी क्षेत्रलाई आग्रह गरिएको भए पनि निजी क्षेत्रले चासो नदेखाएका कारण समस्या आएको हो।

रसुवाको सदरमुकाम धुन्चेमा वाणिज्य मन्त्रालयले आयोजना गरेको नेपाल–चीन व्यापार तथा पारवाहन सम्बन्धी कार्यक्रममा मल्टी भिसा उपलब्ध गराउनका लागि अझै केही समय लाग्ने बताइएको हो।

चीनसँगको व्यापारमा सहजीकरणका लागि नेपाल चीन व्यापार संघ, सीमापार व्यापार संघ, उद्योग वाणिज्य महासंघ गायतका क्षेत्रलाई नेतृत्व लिन आग्रह गरेको तर सवारी चालकको जिम्मेवारी लिन कठिनाइ हुने भन्दै चासो नदेखाएपछि मल्टी भिसा वितरणमा समस्या आएको वाणिज्य मन्त्रालयका उपसचिव बुद्धिप्रसाद उपाध्यायले बताउनुभयो।

चीनमा सामग्री हराउने, सवारीसाधन बिग्रँदा बनाउन जान नपाउने तथा व्यापारमा सुरक्षा नभएको व्यापारीको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले ८ महिनाअघि चीन प्रवेशका लागि आवेदन दिएका २ सयभन्दा बढीको नाम मन्त्रालयमा पठाएको थियो। गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र वाणिज्य मन्त्रालयमा फाइल पुगेर एक चरणमा छलफल भए पनि नेतृत्व लिने क्षेत्रको अभावका कारण समस्या आएको उपाध्यायको भनाइ छ।

रसुवाबासीलाई चीनमा गएर व्यापार व्यवसाय गर्न तथा आवतजावत गर्नका लागि एक वर्षको पास उपलब्ध गराउने भए पनि जिल्ला बाहिरका व्यक्ति नाकासम्म पुगेर फर्कनुपर्ने बाध्यता रहेको छ। भूकम्पका कारण सिन्धुपाल्चाकको तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि रसुवागढी नाका मात्र सञ्चालनमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्