कारागारका महिलालाई सघाउन



सांगीतिक साँझ
ललितपुर, (नेस)। लिभिङ ओमेन एसोसिएसनले यही चैत्र २५ गते शुक्रबार नयाँ र चर्चित कलाकारको विशेष सांगीतिक साँझसहित परम्परागत नेवाः भोजको आयोजना गर्ने भएको छ।

नख्खु र केन्द्रीय कारागारमा कष्टकर जीवन बिताइरहेका विशेषतः महिलाहरुको सहयोगका लागि पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयको खुला चोकमा गीत–संगीतको मज्जासँगै नेवारी भोज खुवाउने कार्यक्रम अघि सारिएको आइतबार ललितपुर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको छ। कार्यक्रमलाई नेवाः सांस्कृतिक साँझ र झवः भ्वय्ं (स्कुलमा बसेर खाने) राखिएको छ।

ती महिलालाई विभिन्न आयमूलक तालिमका लागि सहयोग जुटाउन एसोसियसनले सिर्जना क्राफ्ट र राष्ट्रिय उपभोक्ता मञ्चको समेत सहयोगमा सो कार्यक्रम अघि सारेको बताइएको छ। एसोसिएसनका अध्यक्ष जानकी प्रधानले गीत–संगीत र कला संस्कृतिलाई सामाजिक हितका लागि सदुपयोग गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रमले दिने विश्वास व्यक्त गरिन्।
सो साँझमा रुद्राक्ष ब्यान्डले लोक तथा शास्त्रीय संगीत, स्वजन रघुवंशी समूहले चर्या नृत्यसँगै विभिन्न गीत–संगीतहरु प्रस्तुत गर्नेछन्। कला, संस्कृति र सामाजिक हितले प्रेरित कार्यक्रम भएकाले कार्यक्षेत्र फरक भए पनि सहयोगका लागि अघि बढिरहेको जनाउँदै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन र ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अजरमान जोशीले सोहीअनुरूप सहभागिता जुटाइने बताए।

प्रतिक्रिया दिनुहोस्