भाइब्जले ल्यायो मास्क भिडियो



द भाइब्ज ब्यान्डले मूर्ख दिवससँगै रमाइलो गर्ने दिनका रूपमा प्रचलनमा रहेको अप्रिल फुललाई लक्षित गर्दै शनिबार नौलो र रमाइलो म्युजिक भिडियो सार्वजनिक गरेको छ। रक गीत–संगीतको क्षेत्रमा सधैं केही न केही नयाँ प्रयोग गरेर छोटो समयमै यो विधाको संगीतप्रेमीमाझ लोकप्रियता कमाउन सफल नेप्लिज अमेरिकन ब्यान्ड द भाइब्ज ब्यान्डले फेरि नयाँ प्रयोगका साथ नवीनतम म्युजिक भिडियो तयार पारी सार्वजनिक गरेको हो।

अध्ययन र रोजगारका सिलसिलामा अमेरिका पुगेका युवा संगीतकर्मीहरुले अमेरिकामै स्थापना गरेको यो ब्यान्डले लेट्स गो वाइल्ड काडमाण्डु सिटी बोलको रक गीतको म्युजिक भिडियोमा ब्यान्डका ३ सदस्यलाई नौलो र रोचक ढंगले प्रस्तुत गरेको छ। ब्यान्डका सदस्यहरु अनुहार नदेखाई रमाइलो नाचगानका साथ प्रस्तुत भएका छन्। भिडियोमा प्रयन सिंह भोकलिस्ट, रूपक लामा लिड गितार र दिरेकलाल श्रेष्ठ ड्रमर रहेको ब्यान्डका प्रयन र रूपकका साथमा अमेरिकामै बस्दै आएका एक युवा शुरूमा विभिन्न जनावरको आकृतियुक्त मास्कका साथ प्रस्तुत हुन्छन्। ब्यान्ड सदस्यहरु गीतको भिडियोभरि फिल्मी हिरोको शैलीमा वाद्यवादनका साथ उफ्री–उफ्री नाच्छन्। मास्क पहिरेका कारण भिडियोमा देखिने ब्यान्ड सदस्यहरु को–को हुन् भनेर चिनिँदैन। दर्शक अब मास्क खोलान् र चिनिएलान् भनेर आशा गर्छन्, तर भिडियोको अन्तसम्म पनि कौतुहतालाई कायम राख्दै ब्यान्ड सदस्यहरु भने मास्कमै प्रस्तुत हुन्छन्। यही रूपमै भिडियो सकिन्छ।

भिडियो ब्यान्डका सदस्यहरु आफैंले निर्माण गरेका हुन्। यो भिडियोको छायांकन अमेरिकाको सान फ्रान्सिस्कोमा तयार पारिएको हो। ब्यान्डका ड्रमर दिरेकलाल श्रेष्ठ भने काठमाडौंमा रहेकाले भिडियोमा देखिएका छैनन्। उनको ठाउँमा अमेरिकाबासी नेपाली युवा डमीका रूपमा प्रस्तुत भएका छन्।

दिरेकका अनुसार भिडियोमा ब्यान्डका सदस्यहरु मास्कमै देखिएकाले तथा फन्नी र सरप्राइज प्याकेज भएकाले यसलाई अप्रिल फुलका दिन युट्युबमार्फत् वल्र्ड प्रिमियर गरिएको हो। उनले भिडियो सार्वजनिक गरिएलगत्तै यसबाट राम्रो प्रतिक्रिया पाइरहेको पनि बताए। दिरेकले भिडियोभरि ब्यान्डका सदस्यहरु मास्कमा प्रस्तुत भएकाले यसलाई मास्क भिडियो पनि भन्न सकिने बताए।

पहिलो एलबम द भाइब्ज जेनेरेसनबाटै नेपाली सांगीतिक आकाशमा तहल्का मचाउन सफल द भाइब्ज ब्यान्डले त्यस्तै आकर्षक गीतहरुका साथ दोस्रो एलबम को हुँ म बजारमा ल्याएको थियो भने तेस्रो एल्बम ल्याउने तयारी गरेको छ।

प्रकाशोन्मुख सोही एल्बमको गीतमाथि ब्यान्डले नयाँ भिडियो तयार पारेर सार्वजनिक गरेको हो। नेपालदेखि अमेरिकासम्म उत्तिकै लोकप्रियता कमाउन सफल नेप्लिज अमेरिकन रक सांगीतिक समूह द भाइब्ज ब्यान्डले रक संगीतमा पनि उच्चस्तरको गीत–संगीतमा मात्र विश्वास राख्ने र सोहीबमोजिमको सांगीतिक सिर्जना पस्कने भएकाले स्तरीयतालाई कायम राख्दै केही समयको अन्तरालपछि मात्र एल्बम सार्वजनिक गर्दै आएको छ। द भाइब्जले पहिलो एल्बमस्वरूप द भाइब्ज जेनेरेसन बजारमा ल्याएको थियो। ब्यान्डले नेपाल र अमेरिकाका नेपाली रकप्रेमीद्वारा अत्यधिक रुचाइएको थियो भने एल्बम बजारमा आएकै वर्ष हिट्स एफएम अवार्ड र इमेज अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड जित्न सफल भएको थियो। अमेरिकाका मनोरम दृश्य कैद गरी कथानक ढंगले निर्माण गरिएको सो म्युजिक भिडियो ६ लाख ४० हजार रुपिया” (१० हजार डलर) को लागतमा बनेको थियो। द भाइब्ज जेनेरसनमा संगृहित थाकिसकें बोलको गीतमाथि बनेको म्युजिक भिडियोले पनि लामो समयसम्म नेपाली टेलिजिभन च्यानलहरूको हिट लिस्टमा उत्कृष्ट स्थान कायम गर्न सफल भएको थियो।

द भाइब्ज ब्यान्डका सदस्यहरूको रोचक कुरा के भने यसका भोकलिस्ट तथा हटमेल इन्जिनियर प्रयन सिंह र रेस्टुरेन्ट व्यवसायी तथा लिड गिटारिस्ट रूपक लामा अमेरिकामा बस्छन् भने अमेरिकामै पढेर फर्केका ड्रमर तथा कामना न्युज पब्लिकेसन्स्का सीईओ दिरेकलाल श्रेष्ठ नेपालमा बस्छन्। दुई फरक देशमा रहेर पनि यसका सदस्यहरुले स्काइपको माध्यमले एल्बमका गीतहरु तयार पार्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्