३ सय ५५ जना दोस्रो किस्ताको पर्खाइमा



हिमनाथ देवकोटा, रसुवा
पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेका निमा गोम्बो तामाङले पहिलो किस्ता ५० हजार बुझेर घर निर्माण थाल्नुभएको पाँच महिना भयो। दुईवटा बर्खा कष्टपूर्ण तरिकाले काट्नुभएका तामाङले जेठ अगाडि नै घर बनाइसक्ने गरी काम थाल्नुभएको थियो। सरकारले दिएको ५० हजारले जग हाल्न पनि नपुगेपछि समूह तथा गाउँमा ऋण खोजेर भए पनि प्राविधिकको सल्लाहअनुसार घर बनाउन थाल्नुभएका तामाङले दोस्रो किस्ता नपाएपछि तीन सातादेखि जग उठाएर छोड्नुभएको छ।

‘दोस्रो किस्ताको सिफारिस भएको तीन साता बित्यो, उधारोमा पसलेले सामान दिँदैन सामान नभएपछि घर कसरी अघि बढाउनु –तामाङले प्रश्न गर्नुभयो। ‘बर्खा लाग्न लागिसक्यो। बर्खा लागेपछि सामान ल्याउन समस्या हुन्छ। दोस्रो किस्ता समयमा नै दिएको भए यतिखेर धेरैको घर बन्ने थियो। सरकारको आसैआसमा यो बर्खा पनि टहराको बास हुने हो कि भन्ने चिन्ता लाग्न थालेको छ’ –तामाङले भन्नुभयो।

ग्रेका अर्का भूकम्प प्रभावित आशिष तामाङको पनि दोस्रो किस्ताका लागि सिफारिस भएको एक महिना बितिसकेको छ। गाउँमा ज्यालामा काम गर्ने मान्छे नभेटिएपछि १२ घरधुरीसँग मिलेर घर निर्माण थाल्नुभएका तामाङलाई पनि बर्खाको नै चिन्ता छ। ‘गाँउमा घर निर्माणका लागि आवश्यक पर्ने सामग्री छैन्।

बाहिरबाट ल्याउनका लागि किस्ता कहिले आउने टुंगो छैन, बर्खामा बाटो बन्द भएपछि सामान कसरी ल्याउने, बर्खाको समयमा बाटो बन्द हुने भएकाले घर बनाउन समस्या छ’ –तामाङले समस्या सुनाउनुभयो। सदरमुकाम धुन्चेबाट करिब पाँच घण्टाको सवारीसाधनको यात्रापश्चात पुग्न सकिन्छ गे्र गाउँ। ग्रेका बासिन्दा अहिले पुनर्निर्माणमा जुटेका छन्। पुनर्निर्माणका लागि चाहिने आवश्यक सामग्री खरिदका लागि रकमको अभावमा पुनर्निर्माण नै रोकिएको छ।

सामग्री किन्नभन्दा ढुवानी खर्च बढी पर्ने स्थानीयबासी बताउँछन्। नुवाकोटको त्रिशूली र जिल्लाको स्याफ्रु र धुन्चेबाट सामान ढुवानी गर्नुपर्ने ग्रेबासीको बाध्यता छ। त्रिशूलीबाट सामग्री ल्याउन २० हजार र स्याफ्रुबाट सामान लैजान १० हजार लाग्ने पेमा नोर्साङ घलेले वताउनुभयो।

तेस्रो बर्खा पनि टहरामा
भूकम्पपछिका दिनमा दुईवटा बर्खा कष्टपूर्ण तरिकाले टहरामा कटाएका प्रभावितको यो वर्षको बर्खा पनि टहरामा नै बित्ने भएको छ। चुहुँदो झरीमा टहरा टालटुल गरेर बस्दै आएका प्रभावित सरकारले दिने अनुदानको पर्खाइमा बसेका छन्। पहिलो किस्ताको अनुदान बुझेर घर बनाउन थालेका प्रभावित दोस्रो किस्ताका लागि सिफारिस भएको दुई महिना बित्दा समेत अनुदान रकम नपाएपछि आधा घर बनाएर छाडेका छन्।

प्राविधिकको सल्लाहअनुसार घर निर्माण गरेका गत्लाङका आशिष तामाङले भन्नुभयो– ‘पहिलो किस्ता बुझेर घर बनाउन शुरू गरेको दुई महिनामा दोस्रो किस्ताका लागि योग्य भए पनि अहिलेसम्म अनुदान पाएको छैन। प्राविधिकले केही दिनमा आउँछ भन्छन् केही दिन भनेको महिनौं बितिसक्यो।’

किन रोकियो दोस्रो किस्ता
भूकम्प प्रभावितका लागि अनुदान वितरणमा रकमको अभाव नहुने बताउँदै आएको जिल्ला समन्वय समितिमा दोस्रो किस्ताको सिफारिसको चाङ लाग्न थालेको छ। पहिलो किस्ता बुझेर घर बनाउन थालेका जिल्लाका ५ सय १६ घरधुरीमध्ये दोस्रो किस्ताको लागि ३ सय ५५ को सिफारिस कार्यालयमा पुगेको छ। स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार स्थानीय तहको नयाँ संरचना पुरानो खाता बन्द गरेर नयाँ खाता खोल्नुपर्नेलगायतका कारणले दोस्रो किस्ता वितरण शुरू हुन नसकेको हो। दोस्रो किस्ता वितरणका लागि कोष तथा लेखा नियन्त्रको कार्यालय तथा बैंकसँग आवश्यक परामर्श गरिरहेको र यो साताभित्र दोस्रो किस्ताका लागि योग्य प्रभावितको खातामा रकम पठाइसक्ने पाण्डेले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्