डीआईजी फेरिएपिच्छे झ्याउमा नजर



कुमार श्रेष्ठ, बाँके
ध्यपश्चिम प्रहरी प्रमुख (डीआईजी) भएर आउनेबित्तिकै गत वर्ष फागुन दोस्रो साता माधव नेपालले नेपालगन्जमा प्रतिबन्धित जडीबुटी झ्याउविरुद्ध अप्रेसन चलाउनुभयो। नेपालगन्जका विभिन्न १३ ठाउँमा छापा मार्दा डीआईजीको टोलीले दुई ठाउँमा झ्याउ फेला पार्यो।

प्रहरीले त्यति बेला फेला पारेको १३ हजार ५ सय ५० किलो झ्याउ नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष मो. याकुव अन्सारीको थियो। प्रहरीले संघका अध्यक्ष अन्सारी र झ्याउलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझायो। केही महिनापछि अन्सारी अदालतबाट छुटे।

नेपाल सरुवा भएपछि मध्यपश्चिम प्रमुख डीआईजीमा विजयलाल कायस्थ आउनुभयो। डीआईजी कायस्थले पनि आएको केही समयपछि नै आइतबार नेपालगन्जमा ठूलो मात्रामा झ्याउ बरामद गर्नुभयो। बाँकेको मानपुरस्थित गोदाममा लुकाइराखेको १७ क्विन्टल २१ किलो झ्याउसहित प्रहरीले चौकीदार असरत अलि जसगढलाई नियन्त्रणमा लिएको छ। बरामद झ्याउ नेपाल जडीबुटी व्यवसायी संघका उपाध्यक्ष सकिल जसगढको भएको खुल्न आएको छ।

मध्यपश्चिमका यसअघिका डीआईजी नेपालले एकपटक ठूलो मात्रामा झ्याउ बरामद गरेपछि फेरि त्यसविरुद्ध अप्रेसन चलाउनुभएन। स्रोतका अनुसार यदि त्यति बेला नै फेरि अप्रेसन गरेको भए अहिले बरामद भएको झ्याउ फेला पथ्र्यो। व्यवसायीको ‘सेटिङ’ ले प्रहरी चुप बस्यो। नयाँ डीआईजीले झ्याउविरुद्ध अप्रेसन चलाएर आफ्नो दह्रो उपस्थिति देखाएका छन्। नेपालगन्जमा नाम चलेका ठूला व्यवसायीसँग यस्ता माल अझै रहेको स्रोतहरू बताउँछन्। ‘प्रहरीले एकैलटमा सबै गोदाम खाली गराउन सक्छ। तर, चाहेर पनि गर्दैन। किनभने नयाँ हाकिमले पनि काम देखाउनुपर्यो नि’ –एक व्यवसायीले नाम नछाप्ने सर्तमा भने।

सरकारले झ्याउको उत्खनन, ओसारपसार र निकासीमा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ। २०६७ पुस २६ गते यस्तो प्रतिबन्ध लागेको थियो। व्यवसायीले आफूसँग भएको माल निकासी गर्न नभ्याएको भनेपछि सरकारले त्यही साल एक महिना निकासीका लागि समय दिएको थियो। नेपालगन्जका व्यवसायीहरूले छुट दिइएको एक महिनामा पनि निकासी गर्न नभ्याएको झ्याउ यहाँका गोदाममा राखेको बताएका छन्। नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष अन्सारीले अहिले बरामद भएको झ्याउको कागजपत्र रहेको बताउनुभयो। ‘प्रतिबन्ध लाग्नु अघि ल्याइएको माल हो। राजस्व तिरेको र छुटपुर्जी रहेको छ’, अध्यक्ष अन्सारीले भन्नुभयो– ‘ओसारपसारमा प्रतिबन्ध रहेकाले गोदाममा राखिएको थियो।’ बाँकेका सहायक वन अधिकृत नारायण पाद्देले बरामद झ्याउका बारेमा अनुसन्धान भइरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्