‘भनौँ कि नभनौँ’ माथि अन्तरक्रिया



काठमाडौं, (नेस)। साहित्यकार श्रीओम श्रेष्ठ रोदनको नविनतम निबन्धात्मक कृति भनौंँ कि नभनौंँमाथि शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगको विशेष आतिथ्यमा सम्पन्न उक्त अन्तरक्रियात्मक कार्यक्रममा निबन्धकार श्रीओमको सातौं कृति ‘भनौँ कि नभनौँ’माथि विज्ञ समालोचकहरूले चिरफार गरेका थिए।

अनौपचारिक रूपमा गरिएको उक्त कार्यक्रममा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले श्रीओमको यस संग्रहमा संगृहित निबन्धहरू सरल तर गहिराइपूर्ण भएको बताए।

कार्यक्रमका अर्का अतिथि प्राडा. अभि सुवेदीले निबन्ध लेख्न सजिलो नभएको बताउँदै श्रीओमले त्यो कठिन काम सफलतापूर्वक निर्वाह गरेको बताए।

कार्यक्रममा समालोचक राजेन्द्र सुवेदी, डा. लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारीले श्रीओमका निबन्धका केस्राकेस्रा केलाएका थिए। निबन्धकार श्रीओम श्रेष्ठले आफूले अझै लेख्न सिक्दै गरेको बताए।

सारांश नेपालका अध्यक्ष जय छाङछाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पनि आफ्नो धारणा राखेका थिए। उक्त निबन्ध संग्रह तन्नेरी प्रकाशनले प्रकाशित गरेको हो।

प्रतिक्रिया दिनुहोस्