महिलाको दाबी ‘उपप्रमुख’ मा मात्र



नेपाल समाचारपत्र
सिन्धुली
स्थानीय तह निर्वाचन ऐनले गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिलासहित उम्मेदवारी दिनुपर्ने व्यवस्था गरेको छ। ऐनको सो व्यवस्थाले महिलालाई स्थानीय तहको प्रमुख पदमा पुग्ने ढोका त खोलिदियो, तर महिलाले भने तीमध्ये दोस्रो पदमा नै आफ्नो दाबी गरिरहेका छन्।

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो दाबी प्रस्तुत गर्ने महिलामध्ये अधिकांशले उपाध्यक्ष र उपप्रमुखमै दाबी गरिरहेका छन्। औपचारिक कार्यक्रममा बोल्ने महिला नेतृ प्रमुख नेतृत्वका लागि योग्य भएको दाबी गर्दै आए पनि नेतृत्व नै पाउनेमा भने ढुक्क बन्न सकेका छैनन्।

नेपाली कांग्रेसको दुधौली नगरपालिकामा मेयर उम्मेदवारका रूपमा महिला संघ सिन्धुलीकी अध्यक्ष गंगा दाहालको नाम चर्चामा आए पनि पुरुषहरू महाधिवेशन प्रतिनिधि तथा पूर्व क्षेत्रीय सदस्य गंगा गिरी, महासमिति सदस्य एवं पूर्वसचिव दिनेश अधिकारी, शिक्षक मोहन शाही ठकुरीको मेयरमा दाबेदारी छ र सम्भावना मोहन शाही ठकुरीलाई उम्मेदवारी बनाउने रहेको छ। त्यस्तै कमलामाई नगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट बेपत्ता पत्रकार चित्रनारायण श्रेष्ठको श्रीमती सावित्रा श्रेष्ठको चर्चा आइरहे पनि अम्मरदीप देवकोटा र राम थापाको चर्चा बढी भइरहेको छ र यहाँ पनि राम थापालाई उम्मेदवार बनाउने सम्भावना प्रबल रहेको छ।

नेकपा माओवादी केन्द्रको तर्फबाट नै सुनकोसी गाउँपालिकामा दीपा बोहोराको नाम चर्चामा आए पनि कमल दाहाल र प्रमोद दाहालको नाम पनि चर्चामा आइरहेको छ। दीपा बोहोराले यस स्थानमा टिकट पाउने सम्भावना देखिन्छ। नेकपा एमालेमा कुनै पनि स्थानमा महिला गाउँपालिका अध्यक्ष वा नगरपालिकाको मेयर पदको आकांक्षीका रूपमा चर्चामा आएका छैनन्। पुरुषहरू नै वढी आकांक्षी भएकाले उपप्रमुखमा नै चित्त बुझाउन थालेको देखिन्छ।

चर्चामा आएका अधिकांश पार्टीका प्रमुख पदका आकांक्षीहरू पुरुष मात्र रहेका छन्। सिन्धुलीका ७ गाउँपालिका तथा २ नगरपालिकाका प्रमुख पदमा चर्चित ५ दलबाट करिब ३ सयभन्दा वढी आकांक्षी देखिन्छ जसमा उपप्रमुख पाइने आशमा नै जबरजस्त प्रमुख पदमा प्रचार गरिरहेको पाइन्छ। अन्यथा महिलाहरूले प्रमुख पदको दाबी कुनै पार्टीमा पनि गरेको पाइँदैन।

जिल्लामा २० वटा राजनीतिक दल निर्वाचनमा सहभागी हुनेछन्। पार्टीका संगठनमा समावेशी बनाउन मात्रै महिलालाई राख्ने, क्रियाशील भूमिका⁄पद नदिने तथा निर्णायक अधिकार प्रयोग गर्ने स्थानमा महिलालाई भूमिका नदिने मानसिकता अझै बाँकी रहेकाले महिलाले स्थानीय निकायको प्रमुख पदमा दाबी गर्न नसकेका विभिन्न पार्टीका महिला नेतृहरूको धारणा रहेको छ।

पितृसतात्मक सोचका कारण पार्टीमा महिलाको भूमिका कमजोर बनाइएको कारण महिलाले प्रमुख पद दाबी गर्न नसकेको नेकपा माओवादी केन्द्रका महिला नेतृ सविता कोइरालाले बताइन्। ‘प्रमुख पदको उम्मेदवारीमा महिलाको दाबी किन भएन भनेर हेर्नका लागि पहिला सबै पार्टीको प्रमुखमा को छ भनेर हेर्न जरुरी हुन्छ, पहिलादेखि नै महिला समावेशिताका लागि मात्र राख्ने र जिम्मेवारीबाट वञ्चित गराउने प्रचालन छ, कसरी प्रमुख पदको दाबी गर्न सक्छ, पार्टी संगठनमा पुरुष नै बढी काम गरेको देखिन्छ समाजले नै महिलालाई कमजोर सम्झिन्छन्’ –नेतृ कोइरालाले भन्नुभयो। महिला पूर्ण रूपमा सशक्त नभएसम्म संविधानले नै समावशिताका लागि ग्यारेन्टी गर्नुपर्ने नेतृ कोइरालाले धारणा राख्नुभयो।

जिल्लामा रहेका सबै गाउँपालिका र नगरपालिकामा प्रमुख पुरुष नै निर्वाचित हुने देखिन्छ। सबै स्थानमा प्रमुख पदमा पुरुषको नै चर्चा आइरहँदा आफ्नो संगठन तथा समर्थक कमजोर रहेको स्थानमा मात्र महिलालाई अघि सारिएको देखिन्छ यसले उपप्रमुखमा पुरुष उम्मेदवार उठाउने र उपप्रमुखमा आफ्नो उम्मेदवारलाई जिताउने खेल हुने सम्भावना पनि देखिन्छ। निर्वाचनमा प्रत्येक पार्टीले प्रमुख वा उपप्रमुख पदमध्ये एक जना अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरेपछि कमजोर स्थानमा प्रमुख महिलालाई बनाएर उपप्रमुखमा पुरुष उम्मेदवार बनाएर उपप्रमुखलाई जिताउन अन्य पार्टीसँग सम्झौता गर्ने सम्भावना देखिन्छ।

निर्वाचनमा महिलालाई उम्मेदवार दिने मात्र स्थानीय तह निर्वाचन ऐनमा व्यवस्था गरेको र जित्न दुवै पदमा जसले बढी मद ल्याउँछ त्यसले जित्न सक्ने जिल्ला निर्वाचन अधिकृत रमेशकुमार जोशीले जानकारी दिनुभयो। उम्मेदवारीका लागि सुनिश्चित गरे पनि निर्वाचितका लागि सुनिश्चित नगरेको निर्वाचन अधिकृत जोशीले बताउनुभयो। वडा सदस्यमा दुई महिला अनिवार्य र त्यसमा पनि एक दलित महिला अनिवार्य गरेको र त्यस पदमा मात्र सुनिश्चित गरेको समेत निर्वाचन अधिकृत जोशीले बताउनुभयो।

वडा अध्यक्षमा सम्भवतः सबै स्थानमा पुरुष नै आउने सम्भावना रहेको देखिन्छ। प्रत्येक वडामा दुई महिला अनिवार्य गरेपछि पार्टीबाट उम्मेदवार बनाउन महिलाको खोजी भइरहेको छ। त्यसमा पनि दलित महिला त भेटिन नै मुस्किल परेको पार्टीका नेताहरूले बताइरहेका छन्।

पुरुष प्रधान समाज भएकाले राजनीतिमा महिलाहरूको संलग्नतामा कमी भएका कारण प्रमुख पदमा महिला उम्मेदवार हुन नसकेको नेपाली कांग्रेसका जिल्ला सचिव दीपक घिमिरेले बताउनुभयो। नेकपा माओवादी केन्द्रले भने गाउँपालिका नगरपालिका र वडाका प्रमुख पदमा कम्तीमा ४० प्रतिशत महिलाले उम्मेदवारी दिने पार्टी अध्यक्ष राजन दाहालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्