म्यादी प्रहरीमा क्याम्पसका विद्यार्थी बढी



नेपाल समाचारपत्र
हेटौंडा
म्यादी प्रहरी हुन मकवानपुरमा २ हजार ४ सय ७ जनाले आवेदन दिएका छन्। तीमध्ये अधिकांश क्याम्पसका विद्यार्थी छन्। २०७४ वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो। मकवानपुरमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय मनहरी, पालुङ, नेवारपानी, फापरबारी, पशुपतिनगर, ठिंगन, भीमफेदीबाट आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

चैत १३ गतेदेखि १७ गतेसम्म म्यादी प्रहरी हुन आवेदन दिन आह्वान गरिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमका अनुसार ७ सय ५ महिलाले म्यादी प्रहरी हुन आवेदन दिएका छन्। म्यादी प्रहरी हुन १ हजार ७ सय २ जना पुरुषले आवदेन दिएका छन्। म्यादी प्रहरीको छनोट तालिम शनिबारबाट जिल्ला प्रहरी कार्यालयले शुरू गरेको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभएको छ। म्यादी प्रहरीमा आवेदन दिनेमा क्याम्पसमा अध्ययनरत युवा बढी देखिएका छन्।

मकवानपुरमा आवेदन दिनेमध्ये कति जनालाई म्यादी प्रहरीमा भर्ना लिने भन्ने निश्चित भइसकेको छैन। निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेपछि उपलब्ध नेपाल प्रहरीको अनुपातअनुसार म्यादी प्रहरी भर्ना गरिने बताइएको छ। जिल्ला निर्वाचन कार्यालयले मकवानपुरमा १ सय ६४ मतदान केन्द्र निर्धारण गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ।

सुरक्षा संवेदनशीलताका आधारमा जिल्ला सुरक्षा समितिले प्रहरी, म्यादी प्रहरीलाई मतदान केन्द्रको सुरक्षा, मतदान अवधिमा आवश्यक सुरक्षा व्यवस्था मिलाउनेछन्। करिब २ महिना अवधिमा म्यादी प्रहरीले प्रहरी जवानसरह सेवा सुविधा प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्