आन्दोलन छाडेर चुनावमा लाग्न नेवाङको आग्रह



नुवाकोट, १९ चैत । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले मधेसवादी दलका नेताहरुलाई जारी अन्दोलन निर्वाचन अभियानमा रुपान्तरण गर्न आग्रह गर्नुभएको छ ।

एमालेको निर्वाचन रणनीतिबारे प्रशिक्षण दिन विदुर आउनुभएका एमाले नेता नेवाङले पत्रकार सम्मेलनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षतामा मधेसवादी दलहरु सहमतिमा आइसकेकाले स–साना विषयमा रहेका असमझदारीलाई छलफलमार्फत समाधान खोज्न सुझाव दिनुभयो ।

नयाँ संविधान कार्यान्वयनका लागि स्थानीय तहसहित आगामी माघ ७ भित्र तीन तहको निर्वाचन जसरी पनि गर्नुपर्ने बाध्यता रहेको बताउँदै पूर्व सभामुख नेवाङले भन्नुभयो – “मधेसी दलको समेत ठूलो मेहनत र लामो समयको सङ्घर्षका रुपमा निर्माण भएको संविधान कार्यान्वयन गराउन र निर्वाचनलाई सफल बनाउन उहाँहरुको भूमिका पनि महत्वपूर्ण रहेको छ । चुनावमा सहभागी हुनुको विकल्प छैन ।”

दशकौँदेखिको सङ्घर्षबाट प्राप्त संविधानको संरक्षण र कार्यान्वयन गर्नु सबैको दायित्व रहेको उहाँको भनाइ थियो । आसन्न स्थानीय तहको निर्वाचनमा एमाले पहिलो नम्बरको पार्टी बन्ने र तराईका जिल्लामा समेत राम्रो प्रभाव छाड्ने दाबी पनि उहाँले गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्