प्रशिक्षणले दुर्घटना घटायो



मोतीराम तिमल्सिना, काभ्रे ।

निर्माण क्षेत्रको मेरुदण्डका रुपमा हेरिएको टिपरका कारण बढ्दो दुर्घटना न्युनिकरण गर्न शुरु गरिएको प्रक्षिक्षणले दुर्घटना कम गराएको तथ्याङ्कले देखाएको छ ।

दैनिक १६ सय भन्दा धेरै टिपरहरु काभ्रेमा संचालन भएकोमा बाग्मति टिपर ब्यवसायी संघमा आवद्ध भएका ६ सय टिपर मध्ये गत साउन देखि फागुन मसान्तसम्म ४० वटा दुर्घटना भएका छन् । १८ वटा टिपरसँग सम्वन्धित दुर्घटनामा ५ वटा दुर्घटनामा ६ जनाले ज्यान गुमाउन पुगेका छन् । ति मध्ये एउटा दुर्घटना मात्रै बाग्मति टिपरसँग आवद्ध टिपरबाट भएको छ भने अन्य दुर्घटना असंगठित टिपरबाट भएको कुँवरले बताए । सचिव प्रेम लामाले दुर्घटना भएका मध्ये अधिकांश प्रशिक्षण नपाएका चालकहरुबाट भएकाले चालकहरुलाई प्रशिक्षण आवश्यक भएको बताए ।

संघले ४ सय ८९ वटा टिपरका झण्डै एक हजार मजदुरलाई तालिम दिएको बताए । चालकहरुलाई हर्न नबजाउन, ठुलो उफर नराख्न, ट्राफिक नियम पालना गर्न, महिलाका ऋंगारका सामानहरु नराख्न, झ्यालमा कालो सिसा प्रयोग नगर्न कडा निर्देशन दिएको सचिव प्रेम लामाले बताए ।

उपत्यकामा भएका १११ वटा दुर्घटना मध्ये ३९ वटा दुर्घटना टिपरसँग जोडिएको छ । टिपरमा आएर सवारी साधन ठोक्कियो भने पनि टिपरकै गल्ति देखाउने गरेको भन्दै ब्यवसायीहरुले दुख ब्यक्त गरेका छन् । ‘हामीले सकेसम्म दुर्घटना न्युनिकरणका लागि मजदुरलाई प्रशिक्षण दिईरहेका छौं, निर्देशन अटेर गर्ने, ट्राफिक नियम नमान्ने मजदुरलाई कारवाही पनि गरेका छौं’–बाग्मती टिपर ब्यवसायी संघका अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए । दुर्घटना न्युनिकरण गर्ने उदेश्यले टिपरका चालक र सहचालकहरुलाई हरेक वर्ष ब्यवसायीहरुले प्रहरीको सहयोगमा प्रशिक्षण दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्