ट्रम्पको दोस्रो यात्रा प्रतिबन्ध आदेशमाथि पनि अदालतको रोक



वासिङ्टन, (एजेन्सी)
अमेरिकाको हवाई राज्यको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ वटा मुस्लिम बाहुल्य देशका नागरिकमाथि अमेरिका यात्रामा लगाएको प्रतिबन्धलाई अनिश्चित कालका लागि रोक लगाएको छ।

न्यायाधीश डेरिक वाटसनको उक्त फैसलाले यात्रा प्रतिबन्ध मुद्दा अदालतमा रहेसम्म राष्ट्रपति ट्रम्पले आफ्नो आदेश लागू गर्न नपाउने भएको छ। हवाई अमेरिकाको ती राज्यमध्ये एक हो जसले ट्रम्पको उक्त विवादास्पद प्रतिबन्धलाई रोक्ने प्रयास गरिरहेको छ।

मुद्दाको सुनवाइका क्रममा अदालतले उक्त प्रतिबन्धले मुसलमानप्रति भेदभाव भएको र यसको असर पर्यटन तथा विदेशी छात्र र कामदार आउने क्रमलाई असर पार्ने जनाएको छ। तर राष्ट्रपति ट्रम्पले नयाँ यात्रा प्रतिबन्ध कट्टरपन्थीलाई अमेरिका आउन रोक्ने बताएका थिए।हवाईका न्यायधिवक्ता र अमेरिकी न्याय विभागको बयान सुनेपछि न्यायाधीश डेरिक वाटसनले बुधबार राति उक्त फैसला सुनाएको थियो। गत मार्च ६ मा जारी राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशअनुसार इरान, लिबिया, सोमालिया, सुडान र यमनका नगारिकलाई अमेरिका प्रवेशमा ९० दिनको प्रतिबन्ध र शरणार्थीलाई अमेरिकामा आउन १ सय २० दिनको प्रतिबन्ध लगाएको थियो।

यसै वर्षको जनवरीमा राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै ट्रम्पले ७ वटा मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमाथि प्रतिबन्ध लगाएको कार्यकारी आदेश जारी गरेका थिए। नागरिक तथा मानव अधिकारवादी संस्थाहरूबाट त्यसको ब्यापक विरोध भएको थियो। उक्त आदेशलाई सियाटलस्थित एक अदालतले रोक लगाएको थियो। हवाईको अदालतले गरेको फैसलाविरुद्ध नाइन्थ सर्किट कोर्ट अफ अपिलमा याचिका दायर गर्ने सम्भावना रहेको जनाइएको छ। उक्त अदालतले सियटल अदालतको फैसलालाई रोक लगाउन अस्वीकार गरेको थियो।

राष्ट्रपतिको कार्यकारी आदेशमा शुरूमा इराकमा पनि थियो। तर अधिकारीहरूले इराक सरकारले भिसाको जाँच बढाएको थियो। त्यसपछि आएको अर्को आदेशमा इराकको नाम प्रतिबन्ध सूचीबाट हटाइएको थियो।

संशोधित आदेशमा सिरियाली शरणार्थीमाथि लगाइएको अनिश्चितकालीन प्रतिबन्धलाई पनि हटाइएको थियो। आदेशमा ग्रिनकार्ड भएका ती देशका नागरिकलाई आवतजावतमा कुनै प्रतिबन्ध नुहने भनिएको थियो।

प्रतिक्रिया दिनुहोस्