आन्दोलनसँगै चुनाव तयारीमा मोर्चाका कार्यकर्ता



गोकुल घोरसाइने, बारा
जिल्ला समन्वय समिति बाराको साइन बोर्ड फ्याँकेर फर्किएलगत्तै मधेसी मोर्चाको प्रमुख एक घटक संघीय समाजवादी फोरम नेपालले पार्टी कार्यालयमा एक कार्यक्रमका बीच माओवादी केन्द्रका स्थानीय नेता पप्पु साहलाई अघिल्लो साता पार्टीमा भित्त्यायो।

सशस्त्र द्वन्द्वक्रममा बन्दुक बोकेर माओवादीमा लागेका पूर्वलडाकू साहलाई फोरम नेपालका राजनीति समिति सदस्य एंव पूर्वसभासद् प्रमोदप्रसाद गुप्ता र जिल्ला अध्यक्ष रामबाबु कुमार यादवले अबिर⁄माला पहिर्याए पार्टी सदस्यता प्रदान गर्नुभएको थियो। अहिले निर्वाचनको विपक्षमा रहेको भनिएका मधेसी मोर्चाको अर्को घटक तराई मधेस लोकतान्त्रिक पार्टी पनि गाउँ र नगरपालिकामा भेला र सभा आयोजना गरेर अन्य पार्टीका कार्यकर्ता तान्न व्यस्त देखिएको छ।

सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने धम्की दिए पनि जिल्लामा विपक्षी कार्यकर्ता भित्त्याउन देखाएको सक्रियताले मधेसवादी दलहरू आन्तरिक रूपमा वैशाख ३१ को स्थानीय तह निर्वाचनमा भाग लिने तयारीमा जुटेको विश्लेषण गरिन थालिएको छ। कलैयाका पत्रकार सञ्जय तिवारीका अनुसार मधेसवादी दलका कार्यकर्ताहरू एकैपटक सडक आन्दोलन र निर्वाचनको पनि तयारीमा छन्। ‘संविधान संशोधनमा सहमति भयो भने छोटो अवधिको तयारीमा नै निर्वाचनमा जानुपर्ने अवस्था आउँछ’, उहाँले भन्नुभयो– ‘यदि सहमतिबेगर गर्न खोजिए बिथोल्नुपर्ने बाध्यता पनि छ।’

संविधान संशोधन प्रस्तावमा माथिल्लो तहमा पनि सहमति⁄असहमतिबारे अन्योलको अवस्था कायम रहेकाले मोर्चा कार्यकर्ताले दुवै खालको रणनीति प्रयोग गरिरहेको उहाँको बुझाइ छ। पछिल्लो समयमा मोर्चाका अधिकांश कार्यकर्ता निर्वाचनलाई उपयोग गरेर जानुपर्ने पक्षमा देखिएका छन्। सोही कारणले गर्दा मोर्चा आबद्ध घटक दलले बहिष्कारभन्दा तयारीमा महत्त्व बढी दिएका र संघीय फोरमसहित तमलोपा र सद्भावना पार्टीबीच जिल्ला स्तरमा कार्यगत एकता प्रयाससमेत भइरहेको छ।

स्रोतका अनुसार कतिपय क्षेत्रमा मोर्चाले आपसी तालमेलमा उम्मेदवारी दिने योजना अघि सारेको छ। चुनावी एकताले सदरमुकाम कलैया उपमहानगरसहित सिम्रौनगढ, महागढीमाई नगर र थप २⁄३ वटा गाउँपालिकामा पनि मधेसवादी दलले पकड बनाउन सक्ने सम्भावना छ। मोर्चा जिल्ला संयोजक एवं संघीय फोरम नेपालका अध्यक्ष रामबाबु यादव भने आफूहरू निर्वाचनमा भाग लिने तयारीमा मात्र नलागेको बताउनुहुन्छ। ‘माग पूरा भए मात्र चुनावमा जाने हो’, अध्यक्ष यादवले भन्नुभयो– ‘नत्र मधेसमा चुनाव हुनै सक्दैन।’

उहाँले हाल भइरहेको पार्टी प्रवेश कार्यक्रम पनि चुनाव र आन्दोलन दुवैको तयारी निम्ति भएको बताउनुभयो। सहमतिका लागि सरकार र प्रमुख प्रतिपक्षी एमालेले पनि आनाकानी गर्दै आएको र आफूहरूलाई आन्दोलनमा धकेल्न खोजिएको पनि यादवको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्