काभ्रेमा काठ तस्करी तीव्र प्रहरी बरामद गर्छ, वन छाडिदिन्छ



मोतीराम तिमल्सिना, काभ्रे
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पछिल्लो समय काठको अवध ओसारपसार तथा बिक्रीवितरण गर्ने व्यक्तिहरूलाई पक्राउ गर्दै कारबाही गर्ने क्रम तीव्र बनाएको छ। तर जिल्ला वन कार्यालयले भने पक्राउ परेका व्यक्तिलाई कम सजायमा छोड्न थालेको छ।

जिल्ला प्रहरी प्रमुख सहकुलबहादुर थापाले जिल्लाका विभिन्न स्थानमा भएका अबैद्य क्रियाकलाप न्यूनीकरणका लागि अभियान चलाएको दाबी गर्नुभयो। प्रहरीले शुरू गरेको अप्रेसनले अवैध रूपमा सञ्चालन भएको औषधि पसल, कानुनले बन्देज लगाएका औषधि बिक्रीवितरणमा रोक, लागूऔषधको ओसारपसारमा न्यूनीकरणलगायतका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको उहाँको भनाइ छ।
थापा जिल्लामा आएलगत्तै गत पुस १२ गते पाँचखाल नगरपालिकाको फेदी बजारमा रहेको तेजप्रसाद न्यौपानको फर्निचरबाट अवैध रूपमा लुकाई राखिएको ५ सय २१ थान गोलिया साल जातको काठ बरामद भएको थियो। प्रहरीले बरामद काठ र न्यौपानेलाई जिल्ला वन कार्यालयलाई बुझाए पनि बन कार्यालयले कम सजायको दाबी गरेपछि न्यौपाने धरौटीमा छुटेका थिए।

त्यस्तै पुस १९ गते पनौती नगरपालिका खोपासीमा उत्तिस जातको ४५ थान र मलात्तो जातको १६ थान गरी ६१ थान गोलिया बरामद भएको थियो। मकवानपुर ठिंगन गाविस वडा नम्बर ५ बस्ने आशीष तामाङ काठसँगै पक्राउ परेका थिए। पुस २६ गते पनौती बनेपा सडक खण्डबाट ७४ थान काठ मिनी ट्रकसहित बरामद भएको थियो। राम काष्ठ उद्योगमा चेकजाँच गर्दा चिलाउने, पैयु र उतिस जातको अवैद्य काठ फेला पारेको प्रहरीले जानकारी दिएको छ। सरकारले भूकम्पपीडितहरूका लागि सहुलियत दिएको भए पनि कागजात मिलाउन नसक्दा प्रहरीको चेकजाँचमा केही भूकम्पपीडित पनि परेका छन्।

प्रहरी कारबाहीमा माघ २३ गते पाँचखालबाट १९ थान बरको काठ चिरान गरिएको अवस्थामा फेला परेको थियो। काठ ओसार्न प्रयोग भएको ट्रक र चालकसहित पक्राउ परेका थिए। त्यस्तै फागुन १३ गते उतिस जातका ७ थान, खोटेसल्ला १५ थान र पैंयु जातका २१ थान काठ प्रहरीले पनौती पाटीखर्कबाट बरामद गरेको थियो। प्रहरीले फागुन २३ गते दाप्चा काशिखण्ड नगरपालिकाबाट साल जातको ५२ थान गोलिया काठ बरामद गरेको थियो।

जिल्ला बन कार्यालयका कर्मचारीहरूको मिलेमत्तोमा जिल्लाका विभिन्न स्थानमा अबैद्य काठको बिक्रीवितरण र ओसार भइरहेको पुष्टि भएको छ। तर जिल्ला बन कार्यालय प्रहरीले बरामद गरेका ब्यक्तिहरूलाई सामान्य सोधपुक्ष र काराबाहीमार्फत् नै छाडिदिन थालेको छ। प्रहरी पक्राउ गर्छ वन सामान्य अवस्थामा छाडिदिने गरिरहेका कारण जिल्लाबाट काठ तस्करी मौलाउँदै गएको छ।

प्रतिक्रिया दिनुहोस्