सदरमुकामका मुख्य चोक सधैं हिलाम्मे



ललित सिंह, बझाङ
दरमुकाम चैनपुरमा ढल निकासको उपयुक्त व्यवस्था हुन नसक्दा चैनपुर सधैंजसो हिलाम्मे र ढलमय हुने गरेको छ। सिँचाइ कुलो र घरघरबाट निस्कने ढल सडकमा आउँदा मानिसहरूलाई हिँडडुल गर्न सास्ती हुने गरेको छ।

सदरमुकाम हो भन्दा पनि लाज लाग्ने अवस्था भइसक्यो तर जयपृथ्वी नगरपालिकाले भने सबै कामहरूमा बेवास्ता गदै आएको स्थानीय निरनराम जोशीले बताउनुभयो। उहाँले गुनासो गर्दै भन्नुभयो– ‘कहिले काहीं त जतिपल्ट बजार गयो त्यतीपल्ट लुगा फेर्नुपर्ने हुन्छ। जताततै हिलै हिलो छ।’ सदरमुकामको लोकतान्त्रिक चोक, प्रशाशन चोक, सुर्मादेवी मन्दिर, चौगाउँ टोललगायतका ठाउँमा ढल र सिँचाइको उपयुक्त निकास नहँुदा यस्तो अवस्था सिर्जना भएको हो।

सदरमुकाम चैनपुरमा भएर बग्ने नालीमा जथाभावी प्लास्टिक, सीसालगायत फोहोर फाल्ने र नालीमा सोही फोहोर अड्किएपछि सडकमा हिमाल्य हुने गरेको छ। खानेपानीका पाइपलाइन पनि ढल बग्ने ठाउँमा खुला छोडिएका कारण पानीमा पनि प्रदूषण मिसिन सक्ने खतरा बढेको छ। सडकमा ढल बग्दा दिन प्रतिदिन सदरमुकाम दुगन्र्धित बन्न थालेको महिला अधिकार मञ्चकी उपाध्यक्ष जयन्ती जोशी बताउनुहुन्छ।

सडकमा ढल बग्दा बग्दाबीच बजारमा पनि हिँड्न समस्या हुने गरेको छ। बीच सडक भएर बग्ने नालीको फोहोर पानीले कपडा पनी भिज्छन्। जुत्ता लगाएका मान्छेलाई त झन् हैरान नै हुन्छ। ससाना बालबालिका वृद्धवृद्धाहरूलाई हिँडडुल गर्न समस्या झन् समस्या छ। नगरपालिका स्थापना भएको २ वर्ष भइसकेको छ।

सडकमा पानी ढल बग्न थालेपछि सडक छेउमा रहेका होटल र पसलहरूलाई पनि समस्या हुने गरेको छ। स्थानीय गगन रावलले भन्नुहुन्छ– ‘सदरमुकामको मुटु मानिने लोकतान्त्रिक चोकमा त यस्तो फोहोर छ भने नगरका अन्य वडाहरूको मूल्यांकन सहजै गनै सकिन्छ।’ गाडीले सडकको फोहोर पानी उछिट्याउँदा सडक छेउ रहेका होटलमा राखिएका खानेकुरामा पनि फोहोर पर्ने गरेको नगरबासीको गुनासो छ। धेरै ठाउँमा खुला रूपमा ढल बग्दा दुर्गन्ध फैलिन थालेको छ।

नगरपालिकाका कार्यकारी अधिकृत अम्मराज खत्रीले नगरपालिकाको सानोतिनो लगानीले ढल निकासको व्यवस्था गर्न नकिने भएकाले कुनै ठूलो परियोजना आवश्यक भएको बताउनुहुन्छ। यसका लागि लागि शहरी विकास मन्त्रालयसँग पहल भइरहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्