मान्छे मार्ने बाघ नियन्त्रणमा लिन टोली परिचालन



रत्ननगर (चितवन), १७ चैत । नवलपरासीको वन क्षेत्रमा आतङ्क मच्चाउँदै आएको दुर्लभ पाटेबाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले एक टोली परिचालन गरेको छ ।

बाघ नियन्त्रणमा लिन चिकित्सक र प्राविधिक टोली हात्तीसहित परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

बाघलाई डाट गरी निकुञ्जमा ल्याएर छाड्न टोली पठाइएको हो । निकुञ्जबाट पशु चिकित्सक डा अमिर षडौला तथा पशु सहायक पुरुषोत्तम पाण्डेसहित २० जना भन्दा बढी प्राविधिक र छ वटा हात्ती पठाइएको उहाँले बताउनुभयो ।

बाघ नियन्त्रणका लागि नवलपरासीको भँेडाबारी सामुदायिक वन र नारायणी सामुदायिक वनमा दुईवटा पाडो बाँधेर राखिए पनि आज बिहानसम्म बाघ फेला पार्न नसकिएको अर्यालले जानकारी दिनुभयो । गाउँक्षेत्रमा आतङ्क मच्चाउँदै आएको उक्त बाघले गएको फागुन २ गते नवलपरासीको नन्दन सामुदायिक वनमा र चैत ८ गते भेडाबारी सामुदायिक वनमा दुई जनालाई आक्रमण गरी मार्नुका साथै दर्जनांै पशु चौपाय खाएको मुकुन्दसेन इलाका वन कार्यालय गैंँडाकोटका प्रमुख तथा सहायक वन अधिकृत ईश्वर वाग्लेले जानकारी दिनुभयो ।

तीन दिनदेखि पाडो राखेर जङ्गलमा खोजिए पनि फेला नपारिएकाले आज पनि खोजी टिम जङ्गलमै रहेको वाग्लेले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्