पेरुमा यात्रुवाहक विमान दुर्घटना सबै यात्रु सकुसल



लिमा, (एजेन्सी)
पेरुको राजधानी लिमाबाट आन्तरिक उडानमा रहेको पेरुभियन एयरलाइन्सको एउटा विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। फोर्स ल्यान्डिंगका क्रममा विमानमा आगो लागिसकेको भए पनि सबै यात्रुबाहिर निस्कन सफल भएका थिए। विमानमा रहेका १ सय ४१ जना यात्रु सबै सकुशल रहेको अधिकारीहरूले बताएका छन्।

लिमाबाट उडेको उक्त विमान बोइङ ७३७–३०० पेरुको जुनिन प्रान्तको जुआजा विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो। विमानले धावनमार्गलाई छोएपछि आगलागी भएको थियो। अग्नी नियन्त्रक दल तत्कालै घटनास्थलमा पुगेर आगलागी नियन्त्रणमा लिन र यात्रुहरूलाई सकुसल उद्धार गर्न सफल भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।पेरुभियन एयरलाइन्सको उक्त बोइङ–७३७ विमानमा चालक दलका सदस्यसहित १ सय ४१ जना यात्रु सवार रहेका अधिकारीहरूले जानकारी दिए।

उक्त दुर्घटना हुदाँ विमानस्थल परिसर बाहिरबाट एकजना व्यक्तिले खिँचेको भिडियोमा उक्त घटना रिकर्ड भएको थियो। भिडियोमा दुर्घटनाग्रस्त विमानबाट कालो र बाक्लो धुवाँको मूस्लो उठिरहेको र यात्रुहरूमा ठूलो त्रास सिर्जना गरेको दृश्य कैद भएको थियो। विमान धावनमा मार्गमा आर्लेको लगत्तै ल्यान्डिंग गेयरले काम गर्न छोडेकाले विमानको पछाडिको भाग घिस्रिन पुगेको र विमान रोकिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्