अज्ञात समूहद्वारा विद्यालयमा आगजनी 



बैतडी, (नेस)
बैतडीको पुरचौडी नगरपालिका–१० विजयपुरस्थित रौलेश्वर माविमा अज्ञात समूहले आगजनी गरेको छ। सोमबार राति गरिएको आगजनीबाट विद्यालयको ५ कोठे भवनको ४ ओटा कोठाहरू जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो।

आगजनीबाट विद्यालय कार्यालयका सबै कागजातहरू पनि जलेर नष्ट भएका छन्। आगजनी गरेको ठाउँमा गुड भिजन पार्टी भारत नामको पर्चा छरेको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो। गुड भिजन पार्टी भारत नामको पर्चामा विद्यालयका प्रधानाध्यापक पदमबहादुर विष्टले विद्यालयमा अनियमितता गरेको, अरू शिक्षकलाई अन्य कार्यमा लगाएको, विद्यालयको पढाइमा ध्यान नदिएकोलगायतका आरोप लगाएको प्रहरीले बताएको छ। घटनाका विषयमा अनुसन्धान शुरू भएको र उक्त घटनामा संलग्नको खोजी कार्य शुरू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्