धनवीर दाहाल, रुकुम

रुकुमको त्रिवेणी गाउँपालिका–१० टोट्केकी एकमाया ओली एकाबिहानै पानी लिनका लागि घरबाट हिँड्छिन्। उनलाई साँझ सुत्नेबेलादेखि नै भोलि पानीको पालो आउला कि नआउला भन्ने कुराले पिरोल्छ। उनी बिहानै ४ बजे उठेर पानी लिनका लागि मुसिकोट नगरपालिका–१३ को गोगनपानीमा जान्छिन्। एक गाग्री पानी लिनका लागि करिब २ घण्टा हिँडेर पानी भएको ठाउँमा जानैपर्ने बाध्यता छ। उनी मात्र होइन सोही ठाउँकी खिमा खड्कालाई पनि त्यही पिर छ। पानी लिनका लागि घण्टौं हिड्नुपर्ने बाध्यता उनीहरुसँग छ। ओली र खड्का त एक प्रतिनिधि पात्र हुन्। उनीहरु जस्तै सो गाउँका करिब ७० घर–परिवारलाई पिउनेदेखि कपडा धुने, नुहाउने तथा बस्तुभाउलाई खुवाउने पानीसमेत बोक्नुपर्छ।

साविकको पेउघा गाविस–९ टोट्के र पानी लिने ठाउँ साविकको छिबाङ गाविसको वडा नं. ६ हो। गाउँको शिरमा रहेको मुहानबाट धेरै मेहनत गरेर ट्यांकीमा जम्मा गरेको पानी एक घरलाई एक गाग्री मात्र दिइन्छ। त्यो पानीका लागि घरको एक जना अनिवार्य लाइन लाग्नुपर्ने अर्काे बाध्यता छ।

‘दिनभर एक जनाको जिम्मेवारी नै पानीको हुन्छ’, एकमायाले भनिन्– ‘एक गाग्री पानी त मान्छेका लागि पिउन पुग्दैन। नुहाउने, कपडा धुने र बस्तुभाउका लागि त धेरै बोक्नुपर्छ।’ आफ्नो समस्याका बारेमा कतैबाट पनि पहल नभएको खिमाले बताइन्। ‘पानीको समस्या हाम्रो मुख्य समस्या हो’, खिमा भन्छिन्– ‘पुर्खाैंदेखिको यो समस्या अझै कति खेप्नुपर्ने हो थाहै छैन।’ पिउने पानीका लागि विभिन्न सरोकारवाला निकायसँग पहल भइरहेको स्थानीय समाजसेवी केशरबहादुर खड्काले बताए। खड्काका अनुसार सोलारबाट पानी तान्ने प्रक्रिया सरोकारवालासँग सम्झौता भइसकेको र काम पनि अगाडि बढेको बताए। तर, पुस्तौंदेखिको पिउनेपानीको समस्याबाट आफूहरु आजित भएको उनको भनाइ छ।

उनले भने– ‘पिउने पानीका लागि मात्र नभएर घरमा दैनिक जीवनमा आइपर्ने कामका लागि नभई नहुने पानीको समस्या हाम्रो मुख्य समस्या हो।’ मुख्यरूपमा रहेको पानीको समस्यालाई समाधान गर्नका लागि सम्बन्धित निकायले गम्भीररूपमा चासो नदिएको स्थानीय मानबहादुर ओलीको दुखेसो छ।

आफूहरुले विभिन्न निकायसँग समस्याबारे अवगत गराए पनि गम्भीररूपमा चासो कसैले नदिएको उनले बताए। तर, पछिल्लोपटक भइरहेको प्रयासले केही राहत मिल्छ कि भन्ने आफूहरुले अपेक्षा गरेको उनले बताए। साविकको पेउघा गाविसको अति पछाडि परेको वडाको रुपमा लिइने वडा नं. ९ टोट्के अहिलेको त्रिवेणी गाउँपालिकाको पनि अत्यन्तै दुर्गम वडा नं. १० को रूपमा रहेको छ। मुरू केन्द्र तोकिएको सो वडाबाट मुसिकोट नगरपालिका अर्थात् सदरमुकाम खलंगा आउन सजिलो हुन्छ। पानी, सडक, बिजुली र यातायातको सुविधाबाट वञ्चित सो गाउँमा निकै मेहनती कृषक छन्। मकै, गहुँ, तोरी, आलुलगायतको उत्पादन भएको अन्न तथा तरकारी सो गाउँबाट सदरमुकाम खलंगामा हरेक दिन ल्याएर बिक्री–वितरण गरिन्छ।

LEAVE A REPLY