बुद्धकृष्णद्वारा जिब्रो छेड्ने घोषणा



पुष्कर बुढाथोकी—

भक्तपुर, । मध्यपुरथिमिको बोडेमा परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष मध्यपुरथिमि नगरपालिका–८ बोडेका ४५ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने घोषणा गर्नुभएको छ ।

बुधबार कोरिया मैत्री अस्पतालमा आयोजना गरेको पत्रकार सम्मेलनमा सोही अस्पतालका एम्बुलेन्स चालकसमेत रहेका श्रेष्ठले आफ्नो ठाउँको परम्परा लोप हुनबाट जोगाउन आफूले जिब्रो छेड्न तयार रहेको बताउनुभयो ।

विगत आठवर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाई बाँसश्रेष्ठले श्रीमती र भाउजु विरामी भएका कारण यसवर्ष आफूले जिब्रो नछेड्ने भएपछि जात्रालाई निरन्तरता दिन उहाँले बुधबार जिब्रो छेड्ने घोषणा गर्नुभएको हो । एम्बुलेन्स चालक संघ भक्तपुरका अध्यक्षसमेत रहनुभएका बुद्धकृष्ण वागश्रेष्ठले यसअघि २०६२ सालदेखि २०६५ सालसम्म चारवर्ष निरन्तर जिब्रो छेड्नु भएको थियो ।

जुजुभाईले जिब्रो नछेड्ने बताएपछि मध्यपुर थिमि नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवाली, कोरिया नेपाल मैत्री अस्पतालका निर्देशक डा. दिपेन्द्रकुमार रौशन, अस्पतालका प्रशासन प्रमुख कैशाल देबले जात्राका लागि आफूहरू सहयोग गर्न तयार रहेको बताउँदै परम्परा नरोक्न आग्रह गरेपछि आफू जिब्रो छेड्न तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘बिभिन्न रोगका कारण डाक्टरले बाँच्दैन भनेको थियो, मैले त्यही वर्ष मैले जिब्रो छेडे, मेरो रोग निको भयो, त्यसपछि रोजगारीका लागि कोरिया गए, उताबाट फर्किएपछि निरन्तर यही अस्पतालमा एम्बुलेन्स चलाई रहेको छु, परिवार पनि धेरै राम्रो भएर आयो, अहिले भगवाण प्रतिको त्यही विश्वास र आस्थाले परम्परा जोगाउन फेरी आठ वर्ष पछि जिब्रो छेड्ने निर्णय गरेको हुँ ।’

त्यसअघि अर्थात २०६२ साल अगाडि उहाँकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रूपमा जिब्रो छेडेर यो परम्परा जोगाउनुभएको थियो । उहाँ अहिले जिब्रो छेडाईदिने कार्य गर्दै आउनुभएको छ ।

घरमा पारिवारिक समस्या आएको र बोडेका अरुलाई पनि जात्रालाई निरन्तरता दिनका लागि जिब्रो छेड्ने अवसर प्रदान गर्नका लागि पनि आफूले यसवर्ष जिब्रो नछ्ड्ने निर्णय गरेको जुजुभाईको भनाई छ । जुजुभाईले जिब्रो छेड्नु अघि चार वर्ष बुद्धकृष्ण वागश्रेष्ठले र १२ वर्ष उहाँका दाजु कृष्णचन्द्र बागश्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएको थियो ।
परम्परा जोगाउनका लागि मध्यपुर थिमि नगरपालिकाले गतवर्ष ४४ हजार रुपियाँ सहयोग गरेको बताउदै यसवर्ष पनि जिब्रो छेड्ने जात्राका लागि रकम बढाएर सहयोग गर्ने नगरपालिकाका कानून अधिकृत केशव सिलवालले बताउनुभयो ।

हरेक वर्ष चैत मसान्तको दिन बोडे महालक्ष्मी भैरब मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि बैशाख २ गते १२ बजदेखि १ बजेको बीचमा हजारौ मानिसको अगाडि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाई नायसिं बाजागाजाका साथ जिब्रो छेड्ने परम्परा छ । नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरो देवगणको पूजा एवम् प्रार्थना गरी हजारौ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा छ । जिब्रो छेडेपछि चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात महाद्विप बोकेर टोलटोल घुमाउने गरिन्छ । करिब १ घण्टा पछि जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको दायाँबाँया ठोकिन्छ ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ ।

प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने विश्वास रहदै आएको छ । बोडेको नीलबाराहीसंग यो जात्रा जोडिएकाले पनि यो जात्रालाई निरन्तरता दिनसके बोडे बासिन्दाका लागि शुभ हुने विश्वास रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्