चुनावका कारण स्वास्थ्य विमा सर्यो



‘स्वास्थ्य क्षेत्रमा खेलवाड नहोस् भनेर हामीले निर्वाचन आयोगसँग अनुमति मागेका थियौं तर अनुमति पाइएन ।’

प्रशान्त वली,काठमाडौं
स्थानीय निकायको निर्वाचनका कारण अहिले चैतबाट सुरु गर्ने भनिएको थप पाँच जिल्लाको स्वास्थ्य विमा कार्यक्रम असारका लागि सरेको छ । निर्वाचन आयोगले फागुन १८ गते देखि निर्वाचन आचारसंहिता लागेको भन्दै रोकेपछि चैतका लागि तय भएको कार्यक्रम असारमा पुर्याइएको हो ।

स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अनुसार चैत १ गते देखि तनहु, गोर्खा, चितवन, भक्तपुर र झापा जिल्लामा विमा कार्यक्रम सुरु हुने भनिएको थियो । समितीका निर्देशक डा. गुणराज लोहनीले स्वास्थ्य क्षेत्रमा खेलवाड नहोस् भनेर कार्यक्रमलाई निरन्तरता दिन पत्र लेख्दा निर्बाचन आयोगले अस्वीकार गरेको बताउनुभयो ।

उहाँले असारमा पहिलेनै तय भएका थप पाँच जिल्लामा समेत कार्यक्रम सुरु गर्ने तयारी भएको वताउनुभयो । ती जिल्लाहरुमा जुम्ला, जाजरकोट, रोल्पा, मकवानपुर र महोत्तरी छन् ।

गतवर्ष २५ चैतवाट सुरु भएको स्वास्थ्य विमा कार्यक्रम अहिले देशका ८ जिल्लामा सञ्चालित छन् । अहिलेसम्म कैलाली, वागलुङ, इलाम, वैतडी, अछाम, पाल्पा, कास्की र म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम लागू भईसकेको छ ।

यद्यपि सरकारले हरेक नागरीकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरेपनि कार्यक्रम प्रभावकारी वन्न नसकेको पाइएको छ । कार्यक्रम लागु भएका जिल्लाका बिकट स्थानका अधिकांश स्थानीयलाई जानकारी छैन ।

सरकारले यस आर्थिक वर्षभित्र २ अर्व ५० करोड रुपैंया सक्ने गरि वजेट बिनीयोजन गरेको छ । नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति मार्फत राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । अहिले सम्म ८ जिल्लामा ४७ हजार ५ सय जनाले स्वास्थ्य बिमा दर्ता गरेका छन् ।

स्वास्थ्य विमा दर्ता गरिए विरामी भएको व्यक्तीले ५० हजार रुपैंया सम्मको निशुल्क स्वास्थ्य सुविधा पाउने समितीका निर्देशक डा. लोहनीले जानकारी दिनुभयो । स्वास्थ्य विमा कार्यक्रमका लागी एउटा जिल्लामा ४ देखि ६ जना सम्म कर्मचारीहरु परिचालन गरिएको छ । प्रवन्धकको नेतृत्वमा कर्मचारी परिचालन गरिएको छ । गाविसस्तरमा एजेण्टका रुपमा दर्ता सहयोगीहरु रहेका छन् ।

वैशाख, जेठ र असारमा विमा दर्ता गरेकाहरुले भदौ १, साउन, भदौ र असोजमा दर्ता गरेकाहरुले मंसीर १, कार्तिक, मंसीर र पुसमा दर्ता गरेकाहरुले फागुन १ र माघ, फागुन र चैतमा दर्ता गरेकाहरुले जेठ १ गते देखि स्वास्थ्य सेवा पाउन सक्ने गरि व्यवस्था मिलाइएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अधिकृत जोगलाल चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्