चिनियाँ हत्या विवादको कारण पेरिसमा हिंसा



पेरिस, (एजेन्सी)
एकजना चिनियाँ नागरिकको हत्याको कारण फ्रान्सको राजधानी पेरिसमा चर्कको हिंसामा तीन जना प्रहरी अधिकारी घाइते हुनाको साथै अन्य ३० जनाभन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको सुरक्षासूत्रले मंगलबार जनाएको छ। अघिल्लो दिन पेरिसस्थित एउटा प्रहरी चौकीबाहिर हत्या गरिएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गर्न ती प्रदर्शनकारीहरू जम्मा भएका थिए।

ती मृतक चिनियाँका परिवारले उनले एक जना प्रहरी अधिकारीलाई कैंचीले आक्रमण गरेको भन्ने आरोप अस्वीकार गरेका छन्। घरेलु विवादको उजुरीको कारण छानबिनका लागि उनको घरमा पुगेका प्रहरीबाटै उनी मारिएको बताइएको छ।

चीनले औपचारिक रुपमा फ्रान्स सरकारसमक्ष यस घटनालाई लिएर गुनासो गर्दै आफ्ना नागरिकहरूको रक्षा गर्न अनुरोधसमेत गरेको छ। पाँच सन्तानका पिता ५६ वर्षीय लिउ साओयोलाई आइतबार राति पेरिसमा गोली हानी मारिएको थियो। प्रहरीले उनले धारिलो हतियारले एक जना अधिकारीमाथि आक्रमण गरेको र बुलेट प्रुफ ज्याकेटको कारण मात्र उनको ज्यान बचेको तथा उक्त आक्रमणलगत्तै अर्का प्रहरी अधिकारीले उनीमाथि गोली प्रहार गरेको जनाएका छन्।

ती व्यक्तिका एक छोरीले फ्रेन्च भाषा राम्ररी नबुझ्ने आफ्नो पिता माछा पकाउने तयारीमा समाइएको कैंची लिएर ढोकामा पुग्दा अचानक गोली लागेर ढलेको पत्रकारहरूलाई बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्