पनौतीमा उम्मेदवारको दौडधुप



नेपाल समाचारपत्र
पनौती
आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय निर्वाचनका लागि पनौती नगरपालिकामा विभिन्न दलका तर्फबाट उम्मेदवारका आकांक्षीहरूको दौडधुप शुरू भएको छ। पनौतीमा नेकपा एमाले सबैभन्दा अगाडि उम्मेदवार छनौटका लागि भेला र बैठकहरूमा व्यस्त रहेको छ। अन्य पार्टीहरू पनि उम्मेदवारको बारेमा छलफलमा जुटेका छन्।

पनौती नगरपालिकामा रमेश पौड्याल, भीम न्यौपाने, तुइकाजी ताम्राकार, डा. अम्बुभवानी कार्की, वसुन्धरा हुमागाईंलगायतको नाम चर्चामा रहेको छ। पनौती नगरपालिकामा एमालेबाट मेयरमा प्रमुख दाबेदार मानिएका ३० वर्षे शिक्षण सेवामा अनुभव सँगालेका पौड्याल स्थानीय विद्यालयका पूर्वप्रधानध्यापक हुन्। अर्का आकांक्षी भीम न्यौपाने तत्कालीन कुशादेवी गाविसका पूर्वअध्यक्ष हुन्। त्यस्तै तुइकाजी ताम्राकार संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक उम्मेदवार थिए।

पार्टीले उम्मेदवारको सबै पक्ष हेरेर पार्टीप्रति प्रतिबद्धता, इमान्दार र निष्ठापूर्वक काम गर्न सक्ने, दक्षता र कार्यक्षमता भएको व्यक्तिलाई उम्मेदवार बनाएको खण्डमा उनीहरूको जित सुनिश्चित हुने पार्टिका युवा कार्यकर्ता बताउँछन्। एमालेले स्थायी कमिटी बैठकबाटै स्थानीयस्तरमा लोकप्रिय तथा जित्न सक्ने उम्मेदवारलाई टिकट दिने गरी मापदण्ड तयार गरी चुनावमा होमिएकाले पौड्यालको सम्भावना बढेको स्थानीय एमाले कार्यकर्ताको तर्क रहेको छ।

प्रतिक्रिया दिनुहोस्