सवल स्थानीय तह हस्तान्तरण गर्न आग्रह



नेपाल समाचारपत्र
भक्तपुर
उपप्रधान एवम् संघीय मामला तथा स्थानीय विकासमन्त्री कमल थापाले आगामी वैशाख ३१ गतेको निर्वाचनपश्चात निर्वाचित जनप्रतिनिधिहरूलाई सवल, सक्षम र प्रभावकारी नगरपालिका र गाउँपालिका हस्तान्तरण गर्ने तयारी गर्न कार्यकारी अधिकृतहरूलाई निर्देशन दिनुभएको छ।

संघीय मामला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय विकास प्रशिक्षण केन्द्रले भक्तपुरको नगरकोटमा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री थापाले राजनीतिक दलहरू निर्वाचनउन्मुख भइसकेको र जनता निर्वाचनप्रपति उत्साही भएकाले निर्वाचनमा सहयोग गर्न र निर्वाचनपछि जननिर्वाचित प्रतिनिधिहरूलाई जिम्मेवारी हस्तान्तरण गर्न कार्यकारी अधिकृतहरूलाई निर्देशन दिनुभएको हो।

मन्त्रालयले देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका कार्यकारी अधिकृतहरूलाई स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रदान गरेको अभिमूखिकरण कार्यक्रमअन्र्तगत ३ नम्बर प्रदेशको कार्यक्रममार्फत थापाले कार्यकारी अधिकृतहरूलाई वैशाख ३१ गते हुने निर्वाचनमा सहयोगका लागि तयार रहन पनि आग्रह गर्नुभयो।

कार्यक्रममा उपप्रधानमन्त्री थापाले नेपालको संविधान २०७२ ले व्यवस्था गरेको संघीय संरचनाको अवधारणा राजनीतिक परिकल्पनाको नवीनतम् अभ्यास भएकाले यसलाई सहज ढंगबाट ग्रहण गर्न आग्रह गर्नुभयो। मन्त्री थापाले संविधानमा स्थानीय तहलाई व्यवस्थापकीय, कार्यपालिका र न्यायिक अधिकारको व्यवस्था गरिएकाले त्यसको प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न समेत कार्यकारी अधिकृतहरूलाई निर्देशन दिनुभयो।

प्रतिक्रिया दिनुहोस्