भुक्तानी रोकिँदा विकास निर्माणका काम ठप्प



ललित सिंह, बझाङ
भुक्तानी रोकिँदा विकास निर्माणका कार्यहरू ठप्प रहेका छन्। यही आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने विकासीय योजनाहरू स्थानीय तह संरचना परिवर्तन भएपछि योजनाको कार्य सम्पन्न गर्नका लागि भुक्तानी रोकिएपछि विकास निर्माण ठप्प रहेको स्थानीय सरोकारवालाहरूको भनाइ रहेको छ।

गाउँपालिका तथा जिल्ला समन्वय समिति कार्यान्वयमा आए पनि ती विकास निर्माणका संरचनाहरूको खाता सञ्चालन नहुँदा जिल्लाका निर्माणाधीन काम ठप्प भएका छन्। जिल्ला विकास समिति र गाउँविकास समति विघटन गरी गाउँपालिका र जिल्ला समन्वय समिति कार्यान्यनमा सँगै गत आर्थिक वर्षमा विनियोजन गरेका विकास निर्माणका कामहरूको भुक्तानी प्रक्रिया रोकिँदा जिल्लाको विकास निर्माणका काम अलपत्र परेका ठेकेदारहरूको भनाइ रहेको छ।

गएको फागुन २७ गतेदेखि स्थानीय निकायहरूको विघटन गरी स्थानीय तह बनाएसँगै खाता सञ्चालन नगरी भुक्तानीसमेत रोकेको थियो। भुक्तानी प्रक्रिया रोकेको झन्डै दुई साता बितिसक्दा पनि स्थानीय तहमा खाता सञ्चालन नगर्दा जिल्लाको करोडौंका विकास निर्माणका कामहरूको निर्माणकार्य प्रभावित भएको छ।

भुक्तानी लिनका लागि बारम्बार जिल्ला समन्वय समिति र गाउँपालिकामा पुगेका स्थानीय उपभोक्ताहरू रित्तो हात घर फर्कने गरेको खप्तड गाउँपालिका–७ का स्थानीय जनक सिंहले बताएका छन्। ‘गत आर्थिक वर्षमा गाविस परिषद्बाट ३ लाख बराबरको सिँचाइ कुलो निर्माण गरेकाले अहिलेसम्म भुक्तानी भइसक्नुपर्ने हो तर अहिले एक्कासी स्थानीय संरचना परिवर्तन भई बैंक खाता रोक्का भएपछि भुक्तानी लिन गाह्रो भएको हो’ –उनले बताए।

लामो समयदेखि खाता सञ्चालन नहुँदा जिल्लाका ६ सयभन्दा बढी योजनाहरू प्रभावित भएका छन्। एक नगरपालिकासहित ४२ गाविस रहेको यस जिल्लामा दुई नगरपालिका र दश गाउँपालिकामा विभाजन भएपछि गाउँपालिका, वडा पालिका, नगर कार्यपालिका र जिल्ला समन्वय समितिको नाममा हालसम्म पनि खाता सञ्चालन हुन सकेको छैन।

केही योजनामा अधुरो काम भएका छन् भने अधिकांश योजनाको सम्झौता मात्र भएर कामको शुरुआतसमेत गर्न सकेका छैनन्। निमित्त स्थानीय विकास अधिकारी जगत्प्रसाद जोशीले भने खाता सञ्चालन गर्ने भन्नेबारे मन्त्रालायको परिपत्र नभएका कारण खाता सञ्चालन हुन नसकेको बताउनुभयो छ।

यसरी नै विकास निर्माणका कार्यहरूमा ढिलाइ हुने हो भने जिल्लामा भित्रिएको करौडौं रकम भ्रष्टाचार हुने या फ्रिज हुने अवस्थामा रहेको नेपाली कांग्रसका उपसभापति ज्ञानबहादुर बोहराले बताउनुभएको छ। ‘स्थानीय तह संरचना परिवर्तन भए पनि जिल्लामा विकास निर्माणका कार्यहरू अगाडि बढाउन कुनै न कुनै बाटो अपनाएर अगाडि बढाए निर्माणाधीन अवस्थामा रहेका काम सम्पन्न गर्न सकिन्छ’ –उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्