भारतमा अपहृत बालिका मुक्त



 

नेपाल समाचारपत्र, महेन्द्रनगर ।

भारत विहार राज्यको दरभङ्गाबाट अपहरणमा परेकी एक बालिका जनकपुरमा अपहरणमुक्त भएकी छन् ।

दरभङ्गा उर्दुबजार बस्ने सिकिन्दर अलीकी १० वर्षीया छोरी साना गत शुक्रबार घरबाट पसलमा जाँदै गरेको बेला अपहरणमा परेकी थिइन् । दुई नकाबधारीले हतियार देखाएर सानालाई अपहरण गरी जनकपुर ल्याएका थिए । अपहरणकारीले आइतबार उनलाई जनकपुर बसपार्कमा ल्याएपछि प्रहरीलाई देखी आफूलाई छाडेर भागेको सानाले बताइन् ।

अपहरणकारी भागेपछि अपरिचित ठाउँमा बिचल्लीमा परेर रुँदै गरेकी सानालाई इ–रिक्सा चालक जनकपुर –१६ बस्ने दुर्गेशकुमार साहले जनकपुर, कबीर अनाथ बाल आश्रममा बुझाइदिएका थिए ।

सोधपुछ क्रममा बालिका आफू अपहरणमा परेको सुनाउँदा आश्रम सञ्चालक सत्यनारायण आलोकले प्रहरीमार्फत उनको परिवारलाई खबर पठाउन लगाएका थिए । खबर पाउनासाथ जनकपुर आएका सानाको परिवारलाई आज जिल्ला प्रहरी प्रमुख लालमणि आचार्यले बालिका जिम्मा लगाइदिनुभयो ।

उनी चार दिनदेखि बेपत्ता थिइन् । नेपालबाट छोरीलाई सकुशल लैजान पाउँदा परिवारले नेपाल र नेपालीलाई धन्यवाद दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्