सरकारका तर्फबाट आपत्तिजनक क्रियाकलाप भयो – एमाले । हाम्रो निगरानी जारी छ – नेता नेम्वाङ



नेपाल समाचारपत्र, काठमाण्डौ ।

नेपाल कम्यूनिष्ट पाट्री एमालेले सरकारका तर्फबाट निर्वाचन आचारसंहिता उल्लंघनका आपत्तिजनक क्रियाकलाप आरोप लगाएको छ । एमालेले आयोगलाई ध्यानाकर्षण गराएको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन ।

मन्त्रीहरुले निर्वाचन आचार संहिता उल्लंघन गरिरहेको भन्दै प्रतिपक्षी दल एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो । एमालले यसबारेमा निगरानी गर्न एमालेले सुवास नेम्वाङको नेतृत्वमा संयन्त्रसमेत गठन गरेको छ ।

सप्तरीमा सभा गरेर मधेसी मोर्चाका शीर्ष नेताहरुले एमालेलाई जहाँ भेट्यो त्यहीँ कुट्न, कालोमोसो दल्न र लखेट्न उक्साएकोमा समेत एमाले नेता नेम्वाङले आयोगको ध्यानाकर्षण गराउनुभयो ।

एमालेले आयोगलाई बुझाएको लिखित ध्यानाकर्षणमा मन्त्रीहरुले आचारसंहिता विपरीत हेलिकोप्टर लिएर हिँडेको तथा गृहमन्त्रीले कांग्रेसको तर्फबाट पैसा बाँडेको विषयलाई आयोगले गम्भीरतापूर्वक लिनुपर्ने माग गरेको छ ।

बजेटका कतिपय शीर्षकहरुबाट बजेटमै नभएको, संसदले पास नै नगरेका योजनामा अर्बौं रुपैयाँ रकमान्तर भइरहेकोमा आयोगको ध्यानाकर्षण गराइएको नेता नेम्वाङले बताए ।

पुरानो मिति राखेर जिल्ला जिल्लामा चुनाव प्रभावित पार्ने गरी कर्मचारीको सरुवा र प्रहरी अधिकृतहरुको हेरफेर गरिएको भन्दै एमालेले आपत्ति जनाएको छ ।

आयोगका प्रमुख आयुक्तसहित सबै आयुक्त र सचिव समेत एमालेको प्रतिनिधिमण्डलसँग छलफलमा सहभागी थिए । आचारसंहिता उल्लंघन सरकारबाटै भइरहेको सन्दर्भमा आयोगले कडाइका साथ कारवाही अघि बढाउन लागेको प्रमुख आयुक्त यादवले बताएका थिए ।

एमालेले निर्वाचन आचारसंहिता उल्लंघन लगायतका विषयमा आयोगसँग छलफल गर्न उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङको संयोजकत्वमा अग्नि खरेल, भानुभक्त ढकाल र राजेन्द्र पाण्डे सदस्य रहेको एक समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्