अज्ञात समूहद्वारा विद्यालयमा आगजनी



 

विनोद सिंह विष्ट, बैतडी ।

बैतडीको पुरचौडी नगरपालिका वडा नं १० विजयपुर स्थित रौलेश्वर माविमा अज्ञात समूहले आगजनी गरेको छ । गएराती गरिएको आगजनीबाट विद्यालयको ५ कोठे भवनको ४ ओटा कोठाहरु जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।
आगजनीबाट विद्यालय कार्यालयका सबै कागजातहरु पनि जलेर नष्ट भएका छन् । आगजनी गरेको ठाउँमा गुड भिजन पार्टी भारत नामको पर्चा छरेको प्रहरी नायव उपरिक्षक शर्माले बताउनुभयो ।

गुड भिजन पार्टी भारत नामको पर्चामा विद्यालयका प्रधानाध्यापक पदम बहादुर बिष्टले विद्यालयमा अनियमितता गरेको, अरु शिक्षकलाई अन्य कार्यमा लगाएको, विद्यालयको पढाईमा ध्यान नदिएको लगायतका आरोप लगाएको प्रहरीले बताएको छ । घटनाका बिषयमा अनुसन्धान शुरु भएको र उक्त घटनामा संलग्नको खोजी कार्य शुरु भएको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विद्यालयमा भवनमा आगजनी हुँदा विद्यार्थीहरुलाई भने पठनपाठनको समस्या भएको छ । पुरघाट प्रहरी चौकीबाट घटनास्थल तर्फ प्रहरी गएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्