जग्गामा महिला स्वामित्व हावी



नेपाल समाचारपत्र, बाँके ।

बाँकेका महिलाले जग्गामा स्वामित्व बढाएका छन् । जिल्ला मालपोत कार्यालय, बाँकेका अनुसार, पछिल्लो समयमा ५६ प्रतिशतबढी जग्गा पास महिलाको नाममा भएको छ ।
शहर बजारका मात्रै होइन, ग्रामीणभेगका महिलाले पनि जग्गामा स्वामित्व बढाएका छन् । मालपोत कार्यालयको तथ्यांकले सम्पत्ति पुरुषको नाममा मात्रै हुनुपर्छ भन्ने नेपाली समाजको परम्परावादी सोचमा परिवर्तन आएको देखाएको छ ।
मालपोत कार्यालय, बाँकेमा चालु आर्थिक वर्षको फाल्गुन मसान्तसम्ममा ८ हजार ९ सय ५८ जनाले जग्गा पास गरेका छन् । तीमध्ये ५ हजार ३९ जना महिला रहेका छन् । महिलामा पनि ३ हजार १८ बजार र दुई हजार २१ जना ग्रामीणभेगका रहेका छन् । फाल्गुनमा मात्रै एक हजार २ सय २३ जनाले जग्गा पास गरेकोमा ७ सय २४ जना महिला थिए ।
अधिकारीहरुका अनुसार, महिलाले सम्पत्तिमा हक जमाउनुका केही कारणहरु छन् । महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट हुनु, श्रीमानले बैदेशिक रोजगारबाट पैसा पठाउनु र यहाँ श्रीमतीले जग्गा किन्नु प्रमुख कारण मानिन्छन् । महंगो जग्गा किन्दा राजश्व छुटका लागि महिलाको नाममा जग्गा राख्ने गरेको पाइएको छ । पछिल्लो समयमा कारोबार भएका अधिकांश जग्गा भने घडेरीका रुपमा रहेका छन् ।
सरकारले महिलालाई राजश्वमा छुट दिनुको कारण पनि उनीहरु जग्गाका मालिक बन्न सकुन् भन्ने नै रहेको अधिकारीहरु बताउँछन् । सरकारले महिलासँगै जेष्ठ नागरिक, अपाङका लागि पनि छुटको व्यवस्था गरेको छ ।
मालपोत कार्यालयका अधिकृत मुक्तिप्रसाद शर्माका अनुसार, चालु आर्थिक वर्षको फाल्गुनसम्ममा दुई करोड ७४ लाख रुपैया छुट पाएका छन् । त्यसमा दुई करोड २१ लाख बजार र ५३ लाख ग्रामीणभेगको रहेको छ ।
महिलाको सम्पत्तिमा स्वामित्व बढेसँगै विकृतिका बाछिटाहरु पनि देखिएका छन् । बैदेशिक रोजगारमा बसेर पैसा पठाउने श्रीमानहरु घर फर्किदा सम्पत्ति र श्रीमती नरहने विकृति देखा परेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेमै यस्ता श्रीमानका दर्जनौं निवेदनहरु परेका छन् । यद्यपि, श्रीमती विदेश गएर पैसा पठाउने र घरमा बसेका श्रीमानले मोजमस्ती गरेर सिध्याउने गरेको पनि पाइएको छ । महिलाको नाममा सम्पत्ति हुने बित्तिकै घरेलु हिंसामा कमी हुने गरेको सम्बद्ध भुक्तभोगीहरु नै बताउँछन् ।
पछिल्लो विकृति रोक्नका लागि संयुक्त लाजपूर्जाको अवधारणा अघि सारिएको छ । अधिकारका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ संस्थाले यस्ता अभियानहरु चलाउन थालेका छन् । मालपोत कार्यालयका अधिकृत शर्माले संयुक्त नामसारी पनि भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्