नेपाल–चीन उच्चस्तरीय वार्ता नेपाललाई चुनावी सहयोग



प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सी। तस्वीर सौजन्यः प्रम कार्यलय

नेपाल समाचारपत्र
काठमाडौं
छिमेकी मुलुक चीनले नेपालले तयारी गरेको स्थानीय निकायको निर्वाचनको सफलताको कामना गर्दै नेपाललाई (९ मिलियन आरएमबी) करिब १३ करोड ६४ लाख रुपियाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

चिनियाँ राष्ट्रपति सी जीन पीङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको शिष्टाचार भेटवार्तामा निर्वाचनको सफलताको कामना गर्दै सो सहयोग रकम उपलब्ध गराउने बताउनुभएको हो। उहाँहरूबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, पूर्वाधार विकास, केरुङ–काठमाडौं रेलमार्ग, भूकम्पपछि अवरुद्ध रहेको तातोपानी नाका खोल्नेबारेमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

तातोपानी नाका सुचारु गराउने र नेपाल तर्फको रेलमार्ग विस्तारमा राष्ट्रपति सी सकारात्मक रहँदै त्यसको कार्यान्वयन छिटै हुने प्रतिबद्धता जनाउनुभएको बताइएको छ। राष्ट्रपति सीले विगतमा दुवै मुलुकबीच भएका सम्झौताको कार्यान्वयनबारे चासो व्यक्त गर्दै नेपालको कृषि, पर्यटन, जलवायु अनुकूलन जस्ता क्षेत्रमा सहकार्य गर्न इच्छा व्यक्त गर्नुभएको थियो। राष्ट्रपति सी र प्रधानमन्त्री दाहाल बीच बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा सोमबार दिउँसो करिब आधा घन्टा भेटवार्ता भएको थियो।

सो अवसरमा राष्ट्रपति सीले नेपालको स्थायित्वमा जोड दिँदै चिनियाँ रेल नेपालसम्म पुर्याउन चीन आफैंले सक्रियता देखाउने बताउनुभएको थियो। प्रधानमन्त्री प्रचण्डले भेटघाटपछि प्रतिक्रिया दिँदै द्विपक्षीय वार्ता सोचेभन्दा महत्त्वपूर्ण भएको बताउनुभएको थियो।

यसअघि सी–दाहालबीचको भेटवार्ता १५ मिनेट मात्रै हुने तय भएको थियो। सो भेटवार्तामा प्रधानमन्त्री दाहालले चीनले अघि सारेको वान बेल्ट वान रोड (ओबीओआर) अवधारणाको महत्त्वपूर्ण साझेदार रहन नेपाल प्रतिबद्ध र तत्पर रहेको बताउनुभएको थियो। ओबीओआरबारे छिटै नेपाल–चीनबीच द्विपक्षीय सम्झौता हुने प्रमका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभएको छ। त्यसै गरी नेपाल–चीनबीच गत वर्ष भएका व्यापार, पारवहन जस्ता सम्झौताको कार्यान्वयनका लागि नेपालले गृहकार्य गरिरहेको प्रधानमन्त्री दाहालले राष्ट्रपति सीलाई अवगत गराउनुभएको बताइएको छ।

हालै नेपालमा सम्पन्न लगानी सम्मेलनमा आएको वैदेशिक सहयोग प्रतिबद्धतामध्ये चीनले गरेको उत्साहपूर्ण प्रतिबद्धताले नेपालको आर्थिक विकासकार्यमा उत्साहित बनाएको प्रधानमन्त्रीले राष्ट्रपति सीलाई बताउनुभएको थियो। त्यसै गरी प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति सीलाई नेपाल भ्रमणका लागि पठाउनुभएको निम्तो हस्तान्तरण गर्नुभएको थियो। नेपालले पठाएको भ्रमणको निम्तोलाई सकारात्मकरूपमा लिँदै राष्ट्रपति सीले उपयुक्त समयमा आफूले नेपाल भ्रमण गर्ने जवाफ दिनुभएको बताइएको छ। सो भेटवार्तामा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र सचिव शंकरदास बैरागी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललगायतका नेपाली अधिकारी संलग्न रहनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले जानकारी दिनुभयो। गत बिहीबार चीन जानुभएका प्रधानमन्त्री भोलि बिहान १० बजे स्वदेश आइपुग्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस्