‘भृकुटी’ नाटकमा अभिव्यक्त ‘नेपाल–तिब्बत सम्बन्ध’



काठमाडौँ, १४ चैत । राजकुमारी भृकुटीको विवाह भोटका राजासँग गर्ने विषयमा दरबारमा राजा रानीबीच अन्योल चलिरहेको थियो । एकदिन महारानीले भनिन्,“महाराज, एकपटक बाबु भएर सोच्नुहोस्, त्यति टाढाको भोटका राजासँग छोरीलाई विवाह गर्ने निर्णय पुनः विचार गर्नुहोस् ।” जवाफमा राजा भन्छन् – “महारानी, राजकुमारीको आमा भएर होइन, एकपटक महारानी भएर सोच…।”

ऐतिहासिक विषयमा आधारित सरुभक्तद्वारा लिखित नाटक ‘भृकुटी’ को उक्त संवादले त्यसबेला पनि राजकाज, छिमेकीसँगको सम्बन्ध र पारिवारिक समन्वयका लागि राजा, रानी र भारदारहरुलाई पर्ने सङ्कटको सङ्केत गर्छ । राजकुमारी भृकुटीलाई तिब्बतका राजा स्रङ्चङ गम्पोसँग सन् ६३९ मा विवाह गराउनुपर्ने राजाको त्यो बाध्यताबारे इतिहासकारहरुले स्पष्ट रुपमा उल्लेख नगरे पनि भृकुटीको विवाहपछि नेपाल र तिब्बतबीचको सम्बन्ध सुमधुर भएकामा विवाद देखिँदैन ।

तिब्बतकी रानी भएपछि नेपाली वास्तुकलासहित मन्दिरका साथै ऐतिहासिक पोतला दरबार निर्माणको आरम्भमा भृकुटीको योगदान रहेको मानिन्छ ।

भृकुटी, राजा अंशुवर्माकी वा उदयानन्द कसकी छोरी भन्नेमा पनि इतिहासकारबीच विवाद छ । नेपाली चेली उनले स्रङ्चङ गम्पोले थाङ वंशीय सम्राट ताई सोङकी छोरी बेनचन गंचुसँग दोस्रो विवाह गरेपछि पनि धैर्य र सालिनताका साथ कर्तव्य निर्वाह गरी आफ्नो अलग छवि बनाउन उनी सफल भएको मानिन्छ ।

‘अज्ञानीलाई मारेर अज्ञानता मेटिँदैन’ जस्ता भृकुटीका संवादले नेपालीहरुमा पाइने धैर्यको मापन गर्न सकिन्छ । थाङ्का र पौवा कलामा भृकुटीलाई हरित तारा भनिए झैँ भृकुटी नेपाल र तिब्बतकी ताराका रुपमा सधैँ चिनिन्छन् ।

इतिहासको त्यो जटिल गाथालाई सरुभक्तले लेखेको नाटकलाई पवित्रा खड्काको निर्देशनमा अहिले बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गराइएको छ । मञ्चीय नाटकमा दर्शक घटेको र नाटक निर्देशनमा महिलाको खडेरी देखिएका बेला पवित्राको यो प्रयासले रङ्गमञ्चमा इँटा थप्ने काम गरेको कलाकारहरु बताउँछन् ।

यही चैत ३ देखि १९ गतेसम्म हरेक दिन सो नाटक मञ्चन भइरहेको छ । नारी पात्र र ऐतिहासिक विषयमा आधारित नाटकका कतिपय परिवेश वर्तमानसँग मेल नखाने र पत्याउन गाह्रो हुनेखालको लागे पनि निर्देशकले सरुभक्तको लेखनीलाई सकेसम्म न्याय गर्न खोजेको पाइयो । तिब्बती भाषाको बोल्दा वास्तविक सुनिने संवादलाई नाटकका बाध्यतावशः नेपालीमै गरिएको छ ।

नाटकका हेमन तण्डुकार, कोपिला ढकाल÷सङ्गीता उराँव, केशवी ढकाल, पदम घिमिरे, राजन पङ्गेनी, टार्जन पापी, सुमन कुइँकेल, गोविन्द तिम्सिना, दीपेन्द्रमान श्रेष्ठ, दीवकार घिमिरे, अभिषेक बोहरा, सुरज सुवेदी, सञ्जीव राई, उषा चौधरीको भूमिका छ । नाटकको मञ्च परिकल्पनामा घिमिरे युवराज र जीवन बराल तथा सहनिर्देशनमा सवीन कट्टेल हुनुहुन्छ ।

खचाखच नभए पनि हरेक दिन नाटकका दर्शक पाउनु ‘भृकुटी’ को सफलता हो । पहिलो नाटक निर्देशनको अनुभव भोग्दै गरेकी पवित्रा भन्नुहुन्छ – “मैले डेढ महिना लगाएर यो निर्देशन सकेको हुँ, नाटकको स्क्रिप्ट लामो भए पनि हामीले एक घन्टामा यसलाई रुपान्तरण गरेका छौँ, नाटककार सरुभक्त पनि सन्तुष्ट हुनुहुन्छ, दर्शकको प्रतिक्रिया आइरहेको छ, म उत्साहित छु ।” रासस

प्रतिक्रिया दिनुहोस्