भारतीय विधायकमाथि उडान प्रतिबन्ध



नयाँदिल्ली, (एजेन्सी)
एउटा एयरलाइनका कर्मचारीलाई स्पिरले दनादन पिट्ने भारतका एकजना विधायकलाई भारतका पाँचवटा प्रमुख एयरलायन्सले प्रतिबन्ध लगाएका छन्।

रविन्द्र गाइक्वाद नामक ती विधायकले एयर इन्डियाको उडानमा विजिनेस क्लासको सिट नपाएको झोंकमा एकजना कर्मचारीलाई पच्चीसपटक स्पिरले हानेका थिए।
यसबारे बिहीबार गाइक्वाद विरुद्ध उजुरी दर्ता गरेका एयर इन्डियाले फेडरेसन अफ इन्डियन एयरलायन्स (एफआइए ) द्वारा सञ्चालित सम्पूर्ण उडानमा उनलाई चढ्न नदिइने जनाएको छ। एफआइएका सदस्यमा इन्डिगो, गो एयर, स्पाइस जेट र जेट एयरवेज रहेका छन्।

यी सम्पूर्ण एयरलायन्सको भारतको घरेलु उड्यन उद्योगमा महत्वपूर्ण भूमिका रहेको छ। एफआइएद्वारा जारी गरिएको एक विज्ञप्तिमा गाइक्वाद विरुद्ध कडा कारवाहीका लागि सम्बन्धित सुरक्षा निकायलाई आह्वान गरिएको छ। सो विज्ञप्तिमा भनिएको छ,‘हाम्रा कुनै एक कर्मचारीमाथि भएको दुव्र्यवहारलाई हामी सबैमाथि र आफ्नो आयआर्जनका लागि कडा परिश्रम गर्ने कानुनी अधिकार प्राप्त नागरिकहरुमाथि भएको दुव्र्यवहार ठान्छौं।’ यसैबीच भारतीय व्यवसायिक पायलट संगठनले पनि एक विज्ञप्ति जारी गर्दै आफ्ना सम्पूर्ण सदस्य पायलटहरुलाई गाइक्वाद यात्रु रहेको कुनै पनि उडान सञ्चालन नगर्न अपिल गरिएको छ।
सबै इकोनमी फ्लाइट भएका कारण उनलाई पुणेबाट दिल्ली विजिनेस क्लासमा जान नसकिने बताइएको थियो। दिल्लीमा विमान अवतरण भइसकेपछि उनी ओर्लन नमान्दा बोलाइएका ड्युटी म्यानेजर आइपुग्दा लफडा शुरु भएको थियो। गाइक्वादले पत्रकारहरुलाई भनेका छन्– ‘म भारतीय जनता पार्टीको विधायक हैन। म शिव सनोको विधायक हुँ।’

‘म कुनै पनि अपमान सहन सक्दिनँ। कर्मचारीलाई उजुरी गर्न दिइयोस्। म सभामुख र अन्य निकायसमक्ष गुनासो गर्नेछु।’ शुक्रबार उनले ती ६० वर्षीय पीडित कर्मचारीसँग माफी नमाग्ने अडान लिएका छन्। ती पीडितले उनले आफ्नो चस्मा पनि फुटाइदिएको एसियन न्युज इन्टरनेसनललाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस्