शौचालय र बारसहितको बस सेवा



राम धामी, डडेल्धुरा

डडेल्धुरादेखि काठमाडौंसम्मका लागि उग्रतारा यातायात व्यवसायी समितिले पहिलोपटक आधुनिक सेवासहितको बस बिहीबारदेखि सञ्चालनमा ल्याएको छ।

करिब एक करोड १५ लाखको लागतमा भारतको राजधानी नयाँदिल्लीमा निर्माण गरिएको शौचालयसहित एसी र मिनिबारसहितको बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको समितिका अध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभयो। पहिलो चरणमा ६ वटा बसबाट सेवा सञ्चालन गरिने र अगामी दिनमा थप बस सञ्चालनमा ल्याउने अध्यक्ष खड्काले जानकारी दिनुभयो। सम्पूर्ण रूपमा सुविधा सम्पन्न बस सेवा सञ्चालनबाट डडेल्धुरालाई मात्र नभई समग्र सुदूरपश्चिमको पर्यटन क्षेत्रमा टेवा पुग्ने उग्रतारा यातायात व्यवसायी समिति डडेल्धुराको विश्वास छ।

सदरमुकामस्थित बसपार्कमा आयोजित सेवा शुभारम्भ कार्यक्रममा औपचारिक रूपमा बस सेवाको उद्घाटन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले यात्रुलाई बढी सुविधा दिने उद्धेश्यले सञ्चालित बस सेवा निकै प्रभावकारी हुने जिकिर गर्नुभयो। उहाँले सुपथ मुल्यमा सुविधा सम्पन्न बसमा यात्रा गर्न सबैलाई आग्रह गर्नुभयो।

कार्यक्रममा सार्वजनिक यात्रु बोक्ने सवारी साधन बसमा यतिधेरै सुविधा नेपालमै पहिलोपटक उपलब्ध भएको यातायात व्यवसायीले जानकारी दिए। कालो नम्बर प्लेटमा यस्तो सुविधा राखेर डडेल्धुरादेखि काठमाडौंसम्म राज्यले तोकेको प्रतिव्यक्ति २ हजार रुपियाँ भाडादरमा बस सेवा सञ्चालन गरिनु निकै प्रसंशनीय कार्य भएको जिल्लास्थित राजनीतिक दलका नेताले बताए। कार्यक्रममा नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्ल, एमाले डडेल्धुराका अध्यक्ष डा. तारा जोशी, एकीकृत माओवादीका उमेश भट्ट, पूर्व जिविस सभापति गजेन्द्र शाही, सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट यातायात सेवा सञ्चालन गरिरहेका यातायात व्यवसायी समितिका प्रतिनिधिलगायतका वक्ताले मन्तव्य राख्दै बस सेवा निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे। यसअघि ६ वटा डिलक्स बसबाट डडेल्धुरा–काठमाडौं सेवा दिँदै आएको समितिले बिहीबारदेखि सञ्चालन भएको बस सेवाका यात्रुलाई फुलमाला र टीका लगाई सम्मान गरिएको समितिका महासचिव पदम जैसीले जानकारी दिनुभयो। याुत्रलाई बसमा यात्रा गर्दा जुस र पानीको व्यवस्थासमेत निःशुल्क गरिएको उग्रतारा यातायात व्यवसायी समिति डडेल्धुराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्