कपाल कटाईबाट मासिक १ लाख कमाई



विनोद सिंह विष्ट, बैतडी

नेपाली युवाका लागी प्रेरक बन्दै एक भारतीय युवाले बैतडी सदरमुकाम गोठलापानीमा कपाल कटाईबाट मासिक १ लाख रुपैया कमाउदै आएका छन ।

भारतको पिलीबित घर भएका साकेर सलवानीले गोठलापानी बजारमा पसल थापेर बार्षिक १२ लाख कमाउदै आएका हुन । २८ बर्षिय साकेर १० बर्षदेखि कपाल काट्दै आएका छन । साकेरले १८ बर्षको हुँदा देखि काम गर्दै आएको बताउनुभयो । विगत ३ बर्षदेखि बैतडीमा पसल थापेका साकेरले यसअघि कञ्चनपुरस्थित महेन्द्रनगर बजारमा ७ बर्ष काम गरेका हुन ।

महेन्द्रनगर बजारमा ७ बर्षसम्म भारतकै एक नागरिकसंग साझेदारीमा पारस हेयर ड्रेसर नाम दिएका कपाल काट्ने पसल थापेका थिए । बैतडीमा साकेर हेयर ड्रेसर भनेर नाम दिएर आफ्नै पसल खोलेका साकेरले दैनिक ४० जनाभन्दा बढीकोे कपाल काट्ने गरेको बताउनुभयो । पहिला महेन्द्रनगरमा रहदा साझेदारीमा कमाई बाडिन्थ्यो उहाँले भन्नुभयो“ अहिले आएर सबै कमाई आफ्नै हुन्छ”।

कपाल काट्नका लागी धेरैजसो अफिसियल र टिनएजर्स आउने गरेको बताउदै उहाँले दैनिक ४० जनाबढीकोे कपाल काट्ने गरेको बताउनुभयो“ कपाल काटेवाफल एक जनावाट ५० रुपैया लिने गरेको र दाह्री काटेको पनि ५० रुपैया लिने गरेको हुँ । ”

कपाल काट्ने दाह्री काट्ने काम गर्नुका साथै साकेरले फेसियल , कपाल कलर र मसाज पनि गर्ने गरेका छन ।

फेसियल गरेको २०० रुपैयादेखि ५०० सय, कपाल कलर गरेको २०० रुपैयादेखि १ हजारसम्म र मसाज गरेको २०० देखि ३ हजार रुपैयासम्म लिने गरेको बताउनुभयो ।

बैतडीमा तिन बर्षदेखि पसल थापेका साकेरले तिन जना कामदार समेत राखेका छन ।

पसलको भाडा मासिक पाँच हजार तिर्ने गरेको र बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिने गरेका छन ।

कपाल कटिङ्गका लागी आवश्यक पर्ने सामानहरु सबैजसो भारतबाटै ल्याउने गरेका छन ।

कामदारका रुपमा भारतीय नागरिक नै राखेको र उनीहरुलाई मासिक १५ हजार पारिश्रमिक दिने गरेको बताउनुभयो ।

आफ्नो व्यवसायवाट खुसी रहेका भारतीय नागरिक साकेरले नेपालमा बसेर काम गर्न सजिलो भएको बताउनुभयो । १० बर्षदेखि नेपालमा व्यवसाय गर्दै आएको छु उहाँले भन्नुभयो“नेपालमै बसेर आफ्नो व्यवसाय अगाडी बढाउने सोच राखेको छु ।”

२८ बर्षिय साकेरले एक बर्ष अगाडी मात्रै बिहे गरेको र घर धन्दा चलाउन कुनै समस्या नरहेको बताउनुभयो । घरपरिवार नि मेरो व्यवसाय देखेर प्रसन्न हुनुहुन्छ उहाँले भन्नुभयो“घरपरिवार सजिलैसंग चलाईरहेको छु ।”

नर्मल कपाल कटिङ्ग सेन्टर सञ्चालन गरेका साकेरले छिट्टै वातावरण अनुकुलित एसी पार्लर तथा कपाल कटिङ्ग खोल्ने तयारी गरेका छन ।

गोठलापानी बजारमा वातावरण अनुकुलित कपाल कटिङ्ग खोल्ने जस्तो पसल मिलिराखेको छैन उहाँले भन्नुभयो“भाडाको लागी पसल मिल्यो भने छिट्टै एसी पार्लर सञ्चालन गर्छु । ”

सुन्दा अचम्म पनि लाग्न सक्छ तर साकेरले कपाल कटाईको कमाईवाटै घरघडेरी समेत किन्ने तयारी गरेका छन । उहाँले भन्नुभयो“ अव घर र घडेरी किन्ने तयारी गरेको छु ।”

नेपालमा आएर भारतीयले यसरी व्यवशाय गरी गरेको कमाईबाट पनि नेपालीले पनि केही पाठ सिक्न जरुरी छ । पैसाकै लागी भने जुन हजारौ युवा विदेश पलायन भएका छन उनीहरु सामु भारतीय नागरिक साकेर सलवानी प्रेरक बनेका छन ।
खाडी मुलुकमा पसिना बगाएर पनि सोचेजस्तो आम्दानी गर्न नसकिने स्वदेशमै यसरी परिश्रम गरी मनग्य आम्दानी गर्न सकिने भएकोले नेपाली युवालाई सकारात्मक सन्देश समेत दिएका छन ।

नेपाली युवाका लागी नेपालमै पैसाको त खासै कमी छैन भारतीय नागरिक साकेरले भन्नुभयो“ अठोट, साहस र परिश्रम गर्न सके नेपालीले विदेश पलायन हुनपर्ने बाध्यता हट्छ ।”

फोटो क्याप्सन ः नेपाली युवाका लागी प्रेरक बन्दै भारतको पिलीबित घर भएका २८ बर्षिय साकेर सलवानीले बैतडी सदरमुकाम गोठलापानी बजारमा पसल थापेर मासिक १ लाख कमाउदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्