उच्च बस्तीमा खानेपानीको चरम सङ्कट



सल्यान, ८ चैत । जिल्लाका उच्च स्थानमा रहेका बस्तीमा पानीको चरम सङ्कट देखिएको छ ।

पानीका मुहान सुक्दै जाने र पर्याप्त पानीसमेत नपरेपछि पानीको सङ्कट देखिएको हो । निगाल्चुला, कुपिण्डे, लक्ष्मीपुर गाविसको उच्च स्थानमा रहेका बस्तीमा पानीको अभाव हुन थालेपछि त्यहाँका बासिन्दा बसाइँ सर्न थालेका छन् ।

कालीमाटी गाउँपालिकाका बस्तीमा खानेपानीको स्रोत नहुँदा बस्ती नै सङ्कट परेको स्थानीय गोविन्द डाँगीले बताउनुभयो । “पानीको स्रोत सुक्दै गएकाले बर्सेनि तीनदेखि पाँच परिवारले गाउँ छोड्न थालेका छन्, बस्ती नै खाली हुने खतरा छ,” उहाँले भन्नुभयो ।

अभाव भएपछि तीन घन्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेको छ । एउटै घरबाट दुई÷तीन जनाले पालैपालो पानी आसार्नु परिरहेको निगाल्चुला– ९ का प्रेमबहादुर पुन बताउनुहुन्छ । “दिनभरमा चार गाग्री पानी आउँछ परिवारमा सात÷आठ जना हुन्छन्, नुहाउने र कपडा धुनेको त कुरै नगराँै खानेपानी पाउनसमेत धौधौ छ,” उहाँले भन्नुभयो । पानी बोक्नकै लागि बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ ।

आकासे पानी सङ्कलनका लागि बनाइएका पुराना पोखरीमा पनि पानी सुकेपछि बस्तुभाउलाई समेत पानी बोकेर खुवाउनुपर्ने बाध्यता छ । पानी सङ्कलनका लागि निगाल्चुलामा चारवटा पोखरी बनाइएको छ । यस वर्षदेखि पानी पूरै सुकेपछि बस्तुभाउ बचाउनै गाह्रो भएको स्थानीयवासी लालबहादुर घर्तीले पीडा सुनाउनुभयो । पर्याप्त पानी नपरेपछि आकासे पानी सङ्कलनका लागि बनाइएका घैँटासमेत खाली छन् ।

यस्तै लक्ष्मीपुरकोट र आरुचौरमा समेत खानेपानीको चरम अभाव छ । पानीको अभावका कारण बस्तुभाउ पाल्न छोडेको स्थानीयवासी नारायण खत्रीले बताउनुभयो । पहिले नजिकै कुवाबाट पानी ल्याउने गरेको भए पनि कुवा सुकेपछि स्थानीयवासी गाउँ छोडेर जानथालेका छन् । “गाउँमा आउने न त पानीको स्रोत छ न त नजिक कुवा नै, पानीको सास्तीले बसाइँ सर्नु परिरहेको छ,” खत्रीले भन्नुभयो ।

खानेपानी अभावसँगै विद्यालयमा बनाइएका शौचालय दुर्गन्धित र फोहर भएका छन् । खानेपानीबाट यस क्षेत्रका करिब एक हजार घरधुरी प्रभावित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्