जीर्ण टहरोमा पढाई, शिक्षक र विद्यार्थीको ज्यान जोखिममा



विमल विष्ट,डोटी ।
डोटीको बड्डी केदार गाउँपालिका २ बरउ स्थित शिशु दर्पण आधारभुत बिद्यालयमा भवन अभावले पठन पाठनमा समस्या भएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त शिशु दर्पण आधारभुत विद्यालयमा पानी परेको समयमा विद्यार्थीहरुलाई नचुहिएको ठाउँमा उभ्याएर पढाउनु पर्ने बाध्यता रहेको सो बिद्यालयका प्रधानाध्यापक बेचन चौधरीले बताउनु भयो ।

२०४६ सालमा स्थापना भएको उक्त विद्यालयमा स्थापनाकालमै दुई कोठे टहरो तयार गरिएको भएपनि अहिले त्यो पुर्ण रुपमा जिर्ण भएपछि पठन पाठनमा बाधा भइरहेको प्रधानाध्यापक चौधरीले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘भवनको भित्ता पनि चर्किएको छ, कक्षा कोठाभित्र जानै डर लाग्छ । हिजो आज पनि बेला बखत सामान्य पानी परिरहेकाले वार्षिक परीक्षा सञ्चालनमा समेत समस्या भइरहेको उहाँले बताउनु भयो ।

उक्त बिद्यालयमा कक्षा ५ सम्म पढाई हुने गरेको र बिद्यालयमा ६४ विद्यार्थी रहेका छन् । आफनो बिद्यालयको समस्या कसैले पनि नबुझि दिएको र भवन दिन समेत कसैले पनि पहल नगरेको भन्दै स्थानियबासी आक्रोसित समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्