बार्सिलोनाद्वारा भ्यालेन्सिया पराजित



लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा भ्यालेन्सिया पराजित भएको छ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित भ्यालेन्सियालाई ४–२ गोलअन्तरले हराएको हो। बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा भएको उक्त खेलको २९औं मिनेटमै मान्गालाले भ्यालेन्सियाको तर्फबाट शुरूआती गोल गरेका थिए। तर, उक्त अग्रता ६ मिनेटपछि नै टुंगियो। खेलको ३५औं मिनेटमा बार्सिलोनाका तर्फबाट लुइस स्वारेजले बराबरी गोल फर्काए। खेलको ४४औं मिनेटमा मान्गालाले रातोकार्ड पाएपछि भ्यालेन्सिया १० खेलाडीमा खुम्चियो। स्वारेजलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले मान्गालालाई सीधै रातोकार्ड देखाए भने बार्सिलोनाले पेनाल्टीको अवसर प्राप्त गरे। जसलाई मेसीले सहजै गोलमा परिणत गरेपछि बार्सिलोना २–१ ले अघि बढ्यो।

तर, त्यसको एक मिनेट नबित्दै भ्यालेन्सियाले बराबरी गोल फर्कायो। भ्यालेन्सियाका तर्फबाट मुनिरले पूर्वक्लब बार्सिलोनाविरुद्ध गोल गरेपछि खेलको पहिलो हाफसम्म दुवै टोली २–२ को स्थितिमा रहे।

दोस्रो हाफमा भने बार्सिलोना थप २ गोल गर्न सफल भयो। खेलको ५२औं मिनेटमा मेसीले गोल गर्दै घरेलु टोलीलाई ३–२ को अग्रता दिलाए। उक्त गोलसँगै मेसी लगातार पछिल्ला ८ सिजनदेखि आफ्नो गोलसंख्या ४० पुर्याउने एक्लो ला लिगा खेलाडीसमेत बनेका छन्। यस्तै खेलको ८९औं मिनेटमा नेयमारको पासमा आन्द्रे गोमेजले गोल गर्दै बार्सिलोनालाई ४–२ को जित दिलाए।

जितसँगै बार्सिलोनाले लिगलिडर रियल मेड्रिडसँगको दूरी २ अंक मा झारेको छ। बार्सिलोनाको २८ खेलबाट ६३ अंक हुँदा एक खेल कम खेलेको लिगलिडर रियल मेड्रिडको ६५ अंक छ।

प्रतिक्रिया दिनुहोस्