रसुवाको तीन ठाँउमा प्रसुती प्रतिक्षालय स्थापना गरिने



रसुवा (नेस) ।
रसुवाको विभिन्न तीन स्थानमा प्रसुती प्रतिक्षालय स्थापना गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार स्वास्थ्य संस्थामा हुने प्रसुती दर बढाउनका लागि प्रतिक्षालय स्थापना गर्न लागिएको हो ।
जिल्लामा अझैपनि घरमा नै सुत्केरी गराउने चलन रहेकाले गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सस्थामा पहुँच पु¥याउनका लागि प्रतिक्षालय स्थापना गर्न लागिएको निमित्त स्वास्थ्य अधिकृत डा.इसा दाहालले वताउनुभयो ।

दाहालका अनुसार जिल्लाको जिवजिवे, सदरमुकाम धुन्चे र माथिल्लो भाग समेट्ने गरी स्याफ्रुमा राख्ने तयारी भएको छ । कार्यालयका अनुसार स्याफ्रुको विकल्पमा अर्को स्थानमा पनि राख्न सकिनेछ ।

प्रतिक्षालयमा वस्ने सुविधा हुने र खानाका लागि भने प्रतिक्षालयमा नै पकाएर खानुपर्ने छ । नेपाल जनस्वास्थ्य संघले भूकम्प प्रभावित १४ जिल्लामध्ये १२ वटा जिल्लामा सञ्चालन गरेको सुरक्षित मातृत्व तथा नवजात शिशुहरु वचाउनका लागि प्रेषण प्रणालीको सुदृढिकरण परियोजना अन्तरगत जिल्ला स्वास्थ्य कार्यालय रसुवाले तीन स्थानमा प्रतिक्षालय स्थापना गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्