धर्मराजलाई फिटनेस फस्र्ट उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
धर्मराज लिम्बु तेस्रो मिस्टर फिटनेस फस्र्ट अन्तर खुला शारीरिक सुगठन च्याम्पियनसिप जित्न सफल भएका छन्। ६० केजीका उनले आफ्ना प्रतिद्वन्द्वीलाई पछाडि पार्दै उपाधि उचालेका हुन्। उनले नगद २५ हजारसहित ट्रफी र सप्लिमेन्ट प्राप्त गरे। लिम्बु ६० केजी तौलमा प्रथम स्थान हात पार्दै उपाधिका लागि ओभरअल राउन्डमा प्रवेश गरेका थिए।

दोस्रो स्थानमा ७० केजीका हिरण श्रेष्ठ र तेस्रो स्थानमा ७० केजीमाथिका दामोदर श्रेष्ठ रहे। उनीहरूले क्रमशः नगद १५ र १० हजार, ट्रफी र सप्लिमेन्ट प्राप्त गरे। उनीहरू पनि आफ्नो तौल समूहमा पहिलो स्थान हात पार्दै उपाधि दौडमा सामेल भएका थिए। प्रतियोगितामा कुवेर खत्री बेस्ट पोजर घोषित भए।

फिटनेस फस्र्ट क्लबको आयोजनामा भएको च्याम्पियनसिपको पुरुष स्पोर्टस् फिजिक १ सय ६५ सेमिको प्रतिस्पर्धामा सुजन रोका प्रथम भएर नगद १० हजार प्राप्त गरे। दोस्रो स्थानमा शेखर खत्री र तेस्रो स्थानमा राजेश तामाङ रहे। यस्तै १ सय ६५ सेमिमाथिको प्रतिस्पर्धामा शिव महर्जनले जित हात पार्दै नगद १० हजार हासिल गरे। मनोज कटुवाल दोस्रो र दीपेन्द्र गिरी तेस्रो स्थान प्राप्त गर्न सफल भए।

तीन तौल समूहमा भएको प्रतिस्पर्धामा ६० केजीमा त्रिजोन मानन्धर र मनोज सुरखेती क्रमशः दोस्रो र तेस्रो भए। ७० केजीमा अमर गमाल र सनत हमाल तथा ७० केजीमाथिको तौलमा मनोज श्रेष्ठ र प्रदीप बानिया क्रमशः दोस्रो र तेस्रो भए। प्रतियोगितामा ५० शारीरिक सुगठनका खेलाडीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्