यूपीमा योगी आदित्यनाथ



उनी नेपालमा राजतन्त्र र हिन्दूराज्य हुनुपर्ने भन्दै विगतमा विवादास्पद अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन्।

नेपाल समाचारपत्र
काठमाडौं
भारतीय जनतापार्टी (भाजपा)का नेता अजय सिंह (योगी आदित्यनाथ) भारतको उत्तर प्रदेशका नयाँ मुख्यमन्त्री चयन हुनुभएको छ। भाजपा संसदीय दलको बैठकले उहाँलाई शनिबार मुख्यमन्त्री चयन गरेको हो।

कट्टर हिन्दूवादी नेता मानिने आदित्यनाथ गोरखपुर मन्दिरका पुजारी एवम् हिन्दू युवा वाहिनीका संस्थापकसमेत हुनुहुन्छ। ५ पटक सांसद भइसक्नुभएका नेता योगी पछिल्लो समयमा गोरखपुरबाट लोकसभाका लागि सांसद निर्वाचित हुनुभएको थियो। उहाँले विगतमा नेपालमा हिन्दूराष्ट्रसहितको राजतन्त्रको वकालत गर्नुभएको थियो।

नेपालसँग सीमा जोडिएको भएकाले रणनीतिक महत्त्व राख्ने उत्तर प्रदेशमा सत्तारूढ भाजपाको फराकिलो बहुमत छ। यसअघि सो राज्यको मुख्यमन्त्री बन्ने दौडमा नेताहरू केशवप्रसाद मौर्य र मनोज सिन्हाको नाम निकै चर्चामा रहको भए पनि योगीले बाजी मारेका हुन् ।

शाही शासन कालमा पटकपटक नेपाल आएर विवादास्पद अभिव्यक्ति दिएका आदित्यनाथले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई पत्राचार गरेर नेपाल हिन्दू राष्ट्र हुनुपर्ने माग गरेका थिए। गोरक्षपीठका प्रमुखका रुपमा उनी नेपालमा आएका थिए।

उनले एकपटक टाइम्स अफ इन्डियासँगको कुराकानीमा भनेका थिए– ‘गोरक्षपीठको नेपालसँग लामो समयदेखि सम्बन्ध रहेको छ। गुरु गोरखनाथको आशीर्वादबाट नै पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका हुन्। यसले गर्दा पनि नेपाल हिन्दूराष्ट्र हुनुपर्दछ।’ नेपालमा संविधान जारी हुँदा हिन्दू राज्यको व्यवस्था नगरिएकामा उनले आक्रोश पोख्दै भनेका थिए– ‘नेपालमा लोकतन्त्रको नाममा लुटतन्त्र हावी भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्