अरुणाञ्चलका नाच भृकुटी मण्डपमा



नेपालभारत मानव विकास एवं मैत्री संघ, काठमाडौं र भारतनेपाल मानव विकास एवं मैत्री संघ, अरुणाञ्चल प्रदेश शाखा भारतले शुक्रबार राजधानीमा नेपाल र अरुणाञ्चल प्रदेश, भारतको सांस्कृतिक कार्यक्रम आयोजना गरी नेपाल र अरुणाञ्चल प्रदेशका विविध नृत्य प्रस्तुत गरे।

राजधानीको भृकुटीमण्डपस्थित बगैंचामा आयोजित कार्यक्रम नेपालका लागि भारतीय कार्यवाहक राजदूत विनय कुमारले शुभारम्भ गरेका थिए।

अरुणाञ्चल प्रदेशको मन्पा जातिको परम्परागत तोवाङ गायन एवं नृत्य प्रस्तुतिबाट शुरु गरिएको कार्यक्रमा बौद्ध धर्मावलम्बीको १२ वर्ष चक्रअन्तर्गतको सेर्तुक्पेन समुदायको बार्दोछाम नृत्य आकर्षक लाग्थ्यो। नृत्यमा कलाकारहरुले बाघ, भेडा, बाँदरजस्ता विभिन्न जनावरको मुकुण्डो लगाएर नाची दर्शकलाई आकर्षित गरेका थिए।
अरुणाञ्चल प्रदेशको सिंह नृत्य अर्को आकर्षण बन्न पुग्यो। त्यसमा भिक्षु र तीन सिंह बनेरको प्रस्तुत नृत्य आकर्षक लाग्थ्यो।

अरुणाञ्चल प्रदेशकै बुगुन समुदायको बुगुन नृत्य र मन्पा समुदायको अर्को धिराङ नृत्यले पनि दर्शकको मन लोभ्यायो। अरुणाञ्चल प्रदेशबाट त्यहाँका कलाकारहरु ताम्रिन छिरिङ, दोर्जी खाण्डु थुँगन, लोप्सङ छोन्जुर, तेन्जिङ टासी, रिन्चिन लामु, थुक्तेन छोम्बे, कुन्चो लामु, साँगे छोमु, दावा योटन, लेकी छोम प्याङ, सबनम ग्लो, नाम्गे वाङ्मो फिन्ह्या, नवाङ छोटेन, सोनाम पेमा, कुञ्जाङ ल्हाट्रोन, फुन्चु ख्रिमे, रिँचिङ नर्वो थुँगनलगायतले आ–आफ्ना समुदायका विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए।
अरुणाञ्चल प्रदेशबाट आएका ५७ जना कलाकारको टोली आफ्नो भेषभुषा र बजागाजासहित सांस्कृतिक झाँकी लिएर कमलादीबाट भृकुटीमण्डसम्म पुगेको थियो।कार्यक्रममा नेपालका तर्फबाट सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले हुड्केली र थारु नृत्य प्रस्तुत गरेको थियो।

आयोजकका अनुसार आज शनिबार पनि रत्नपार्कस्थित शान्ति बाटिकामा यो कार्यक्रम जारी रहनेछ।

प्रतिक्रिया दिनुहोस्