पहाडमा मूल्यवृद्धि बढी



नेपाल समाचारपत्र
काठमाडौं
उपभोक्ता मुद्रास्फीति घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। बिहीबार चालू आर्थिक वर्षको सात महिनाको तथ्यांक सार्वजनिक गर्दै राष्ट्र बैंकले अघिल्लो वर्षको माघ महिनामा ११ दशमलब ३ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति यस वर्षको माघ महिनामा ३ दशमलब ३ प्रतिशतमा झरेको जनाएको छ।

आधार मूल्य प्रभाव, आपूर्ति व्यवस्थामा सहजता तथा भारतमा उपभोक्ता मुद्रास्फीतिदर न्यून रहेको कारण पछिल्ला महिनामा उपभोक्ता मुद्रास्फीति निरन्तर घट्दै आएको राष्ट्र बैंकको भनाइ छ।

समीक्षा अवधिमा खाद्य मुद्रास्फीति शून्य दशमलब २ प्रतिशतले ऋणात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १२ दशमलब ८ प्रतिशत रहेको थियो।

यस समूहअन्तर्गतको दलहन तथा गेडागुडी र घ्युतेलको मूल्यमा ८ दशमलब ४ प्रतिशत, तरकारीको मूल्यमा ५ दशमलब ८ प्रतिशत, माछामासुको मूल्यमा २ दशमलब ४ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा शून्य दशमलब ४ प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो।

त्यस्तै चिनी तथा चिनीजन्य पदार्थको मूल्य १६ दशमलब ५ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १० दशमलब ५ प्रतिशतले वृद्धि
भएको छ। गैरखाद्य मुद्रास्फीति भने ६ दशमलब १ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति १० दशमलब १ प्रतिशत रहेको थियो।
यससमूह अन्तर्गत लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, शिक्षा, सञ्चार, यातायात लगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले गैरखाद्य मुद्रास्फीति कम रहन गएको हो।

क्षेत्रगत आधारमा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५ दशमलब ९ प्रतिशत, हिमालमा ३ दशमलब २ प्रतिशत, तराईमा ३ प्रतिशत र काठमाडौं उपत्यकामा १ दशमलब १ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ११ दशमलब ४ प्रतिशत, हिमालमा १० दशमलब ५ प्रतिशत, तराईमा ९ दशमलब ६ प्रतिशत र काठमाडौं उपत्यकामा १४ दशमलब ३ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्