घटना दर्ताको काम रोकियो



सन्तोष अधिकारी, गोरखा
रखाका गाउँ तथा नगरपालिकाहरूमा जन्म, मृत्यु, विवाह तथा बसाइँसराइजस्ता घटना दर्ताको काम रोकिएको छ। नयाँ संरचनाअनुसारका कागजात नबन्दा पञ्जीकरणको काम रोकिएको अजिरकोट गाउँपालिकाका कार्यकारी प्रमुख गणेशभक्त त्रिपाठीले बताए।

‘नयाँ अनुसूची फाराम छैन’, गाविस सचिव हक हित संरक्षण केन्द्रका अध्यक्षसमेत रहेका अजिरकोट गाउँपालिकाका कार्यकारी प्रमुख त्रिपाठीले भने– ‘पहिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, पञ्जीकरण विभाग लेखिएको लेटरप्याड थियो। अब के बनाउने भन्नेबारेमा हामीलाई थाहा छैन। त्यसैले घटना दर्ता गर्न आउनेहरूलाई केही दिनपछि आउन अनुरोध गरेर पठाएका छौं।’ जिल्ला समन्वय समितिमा रहेका पञ्जीकरण शाखाले यसबारेमा जानकारी गराएपछि लेटरप्याड बनाएर घटना दर्ताको काम गर्ने उनले बताए। ‘स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश २०७३ मा पनि पञ्जीकरणका बारेमा केही खुलेको छैन’ –उनले भने।

अति जरुरी भएकाहरू आए भने पुरानै लेटरप्याडमा पुरानै मिति राखेर बनाइदिने मनस्थितिमा रहेको भीमसेन गाउँपालिकाका कार्यकारी प्रमुख शेखरनाथ न्यौपानेले बताए। ‘गाउँपालिकाको लेटरप्याडचाहिँ बनाइसकेको छु, उनले भने– ‘जन्म प्रमाण चाहिए यही लेटरप्याडमा बनाइदिन्छु। नयाँ ढाचाको दर्ता फारामचाहिँ उपलब्ध भएको छैन। अति जरुरी भएकाहरू आए भने पुरानै मितिमा पुरानै फाराममा बनाउनु बाहेक उपाय छैन।’ नयाँ ढाँचाको फाराम नआई आफूहरूले पनि घटना दर्ता नगरेको गोरखा नगरपालिका वडा नं. ९, १०, ११ र १२ को कार्यकारी प्रमुख अनिलभक्त उपाध्यायले बताए। ‘पुरानो फारामअनुसार भर्दा नमिल्ने होला। त्यही भएर अब केही दिनपछि आउनू भनेर पठाइदिने गरेका छौं’, उनले भने– ‘कसैले जिद्दी गर्यो भने पुरानै मितिमा पुरानै फाराममा बनाइदिउँला। तर अहिले बनाएको छैन।’

जिल्ला समन्वय समितिका प्रशासकीय अधिकृत नारायण आचार्यले पनि घटना दर्तासम्बन्धी समस्या देखिएको बताए। ‘संविधानको धारा ५६, उपधारा ४ अनुसार अब जिल्ला समन्वय समिति, गाउँपालिका, नगरपालिका कुनै मन्त्रालयअन्तरर्गत पनि रहेनन्। संवैधानिक निकाय भएका छन्’, उनले भने– ‘पुरानो घटना दर्ता फाराम अमान्य भएको छ। नयाँको ढाँचा नआउँदा समस्या भयो।’

प्रतिक्रिया दिनुहोस्