नयाँदिल्ली (एजेन्सी)
भारतको पाँचवटा राज्यको विधानसभाका लागि भएको चुनावको परिणाम आइसकेको छ। चुनाव परिणाम आएपछि ती राज्यहरूमा सरकार गठनको राजनीतिक प्रक्रिया शुरू भएको छ। पाँच राज्यमध्ये उत्तरप्रदेश, उत्तराखन्ड र पन्जाबमा जनादेश स्पष्ट छ। तर मणिपुर र गोवामा कुनै पनि पार्टी तथा गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न नसकेको अवस्थामा त्यहा पार्टीहरूबीच समीकरणका लागि राजनीतिक पहल अगाडि बढेको छ।
भाजपाका लागि अन्त्यन्त सुखद र विशेष गरी भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको ठूलो जितका रूपमा मूल्यांकन गरिएको ५ वटा राज्यको विधानसभाको यस चुनावको परिणामले भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा भाजपाले दुई तिहाइभन्दा ठूलो बहुमत हासिल गरेको छ। त्यसै गरी उत्तराखन्डमा पनि भाजपाले त्यस्तै नतिजा निकालेको छ। यी दुई राज्यमा भाजपाको सरकार निश्चित बनेको छ। गोवा र मणिपुरमा भने भाजपा कांग्रेस पछिको दोस्रो शक्तिका रूपमा देखिएको छ। ती दुबै राज्यमा कुनै पनि एकल पार्टीले बहुमत हासिल गर्न सकेको छैन। त्यसै गरी पन्जाबमा भने कांग्रेसले आवश्यक बहुमत हासिल गरी आफ्नो सरकार पक्का गरेको छ।
उत्तर प्रदेश विधानसभाको ४ सय ३ सिटमा भाजपाले ३ सय १२ सिटसहित विशाल जित हात पारेको छ। यहाँ समाजवादी पार्टी र कांग्रेसको गठबन्धनले ५४ सिट र मायावतीको बहुजन समाजवादी पार्टीले १९ र अन्य दलले १८ सिटमा सन्तुष्ट हुनुपर्यो। उत्तर प्रदेशको यो जितलाई भाजपा र मोदी नीतिको ठूलो सफलताका रूपमा लिएको छ।
त्यसै गरी उत्तराखन्ड विधानसभाको ७० सिटमा भाजपाले ५७ सिटमा जितेका छन्। यसअघि सत्तारुढ रहेको कांग्रेस ११ सिटमा सीमित भएको छ भने अन्यले २ सिटमा जितेका छन्।
पन्जाबमा बहुमत हासिल गरेका कांग्रेसले यस राज्यको विधानसभाको १ सय १७ सिटमा ७७ सिट जित्न सफल भएको छ भने अकाली दल भाजपा गठबन्धनले यहाँ १८ सिट मात्र हात पारेका छन्। ठूलो र अप्रत्यासित जितको आस गरिरहेको आम आदमी पार्टी (आप) पन्जाबमा २० सिट जित्न सफल भए। अन्यले यहाँ २ सिटमा जितेका छन्।
त्यसै गरी गोवा विधानसभाको कुल ४० सिटमा कांग्रेसले १७ , भाजपाले १३ र अन्यले १० सिट जितेका छन्। मणिपुर विधानसभाको ६० सिटमा कांग्रेसले २८ भाजपाले २१ र अन्यले ११ सिटमा जित हासिल गरेका छन्।