सीमा गोल्छा नेपाली चर्चित महिला उद्यमी हुन्। उनी विद्युतीय साम्रगीको व्यवसाय गर्छिन्। उद्योगी शेखर गोल्छाकी पत्नीसमेत रहेकी सीमा आफ्नो व्यवसायमा शुरूका दिनमा पतिको साथ रहे पनि अहिले भने उनी आफ्नै पौरखले व्यवसाय विस्तार गरिरहेकी छन्। काठमाडौंबाट शुरू गरेको उनको व्यवसाय अहिले विस्तार भएर काठमाडौं बाहिरसमेत पुगिसकेको छ। सीमाको व्यवसाय र उनको सामाजिक क्रियाकलापका विषयमा केन्द्रित रहेर नेपाल समाचारपत्रका लागि दीपेन्द्र थापाले गरेको कुराकानी ः

सीमा गोल्छा,
व्यवसायी

तपाईं कसरी व्यवसायमा आउनुभयो ?

म त एकदमै रुढिवादी मारवाडी परिवारबाट आएको हुँ। महिलालाई गर्ने अहिलेको र पहिलेको व्यवहार धेरै फरक थियो। महिलाहरू घुम्टो लगाएर घरमै बस्थे।

परिवारलाई सम्झाउन त्यो समय गाह्रो थियो। तर राम्रो कामका लागि बाटो खुल्दो रहेछ। म त बिहेभन्दा पहिले पनि काम गर्थेँ। म सोच्न सक्दिनथेँ केही नगरेर घरमा बस्न। मैले श्रीमान्को राम्रो साथ र सहयोग पाएकी छु। उहाँले भन्नुहुन्थ्यो– ‘म केही भन्दिनँ। म केही कुरामा रोक लगाउँदिनँ। तर तिमीले समाजसँग लड्न सक्नुपर्छ।’


विद्युतीय व्यवसाय नै रोज्नुको कारण ?

मान्छेहरूले धेरै सुनाउँथे। त्यस्तो इलेक्ट्रोनिक पेसामा गएर के गर्छौ भन्थे। पैसा ठूलो कुरा होइन। केही हदसम्म होला तर त्यो काम गर्नुको मजा नै छुट्टै हुन्छ।

मलाई जसरी पनि काम गरेर देखाउनु थियो। अहिले आएर मैले राम्रो गरेछु जस्तो लाग्छ। शुरूमा मेरो कार्यालयमा जम्मा ५ जना महिला कर्मचारी थिए। आज ५० जना छन्। मैले उनीहरूलाई रोजगारी दिएकी छु। उनीहरू आफ्नो खुट्टामा उभिएका छन्। उनीहरू खुसी छन्। मलाई मैले गरेको कामप्रति खुसी लाग्छ। शुरूका दिनमा गाह्रो थियो। धेरै मान्छे सहयोग गरेजस्तै गर्छन् तर तिनीहरूले नै खुट्टा तानिरहेका हुन्छन्। उनीहरूसँग पनि लड्नुपर्यो मैले।
म एक महिला त्यसमाथि छोरी, बुहारी र आमा। धेरै जिम्मेवारी थिए ममाथि। श्रीमान् ठूलो व्यापारी हुनुहुन्छ। उहाँसँग पनि सोसलाइज हुनुपर्यो। धेरै जिम्मेवारी मैले बहन गर्नुपर्छ। समय मिलाउन मेरा लागि चुनौतीपूर्ण नै हुन्छ। यदि म आफूलाई सशक्त बनाउन सक्छु भने मैले अरूलाई पनि सशक्तिकरणको बाटोमा ल्याउनुपर्छ भन्ने मेरो सोचाइ हो। मलाई समाजले जिम्मेवारी दिएको छ भने मैले पनि समाजलाई केही दिनुपर्छ। गाह्रो हुन्छ तर मैले यदि गर्छु भनेर आँटिसकेपछि म गर्छु। मलाई गर्नुपर्छ टाइम म्यानेज जसरी पनि गर्नुपर्छ मैले।

हिन्दुस्तान (भारत) मा मैले आफ्नो ग्रइजुएसन सिध्याएपछि विज्ञापन एजेन्सी सम्बन्धी पनि पढें र भारतै ठूलो विज्ञापन एजेन्सी (ट्रिकाया) मा पनि काम गरें। १५ वर्ष भयो काम गरेको तर महिला भएर ‘बायस’ हुन परेको त्यस्तो अनुभूत गरेको छैन।

महिला भएकै कारण काम गर्न गाह्रो भएको मसुस गर्नुपर्यो ?

मलाई कहिले लागेन महिला भएकै कारण मलाई अन्याय भयो। यदि कोही युद्धका लागि मैदानमा होमिन्छ भने उसले आफूलाई चुनौती सामना गर्न पनि तयार हुनुपर्छ। म पनि मलाई गाह्रो अप्ठ्यारो पर्छ कि भन्नेमा सचेत थिएँ। तर मैले त्यो सामना गर्न परेन। यहाँ त कानुनी समस्या पो धेरै छ।

घरबाट अवरोध भएन ?

घरमा अलि अलि समस्या आयो। तिमी बाहिर काम गर्ने भएपछि घरमा कसले गर्छ भन्ने कुरा आयो। तर मैले चुनौती मोलें। तर, म आफ्नो घरको जिम्मेवारीबाट पछि हटिनँ। मैले घरको पनि काम गरें।

आगामी योजनाहरू के छन् ?

नयाँ आउटलेटहरू विस्तार गर्ने सोचेको छु। काठमाडौं उपत्यकामा वानेश्वर, महाराजगन्ज, चावहिल, केएल टावर, भक्तपुरसहित ८ वटा छन्। अझै २⁄३ वटा खोल्ने लक्ष्य छ। काठमाडौं बाहिर बिर्तामोड, नारायणघाट, पोखरा आदि ठाउँमा हाम्रो शाखा विस्तार भइसकेको छ। यसबाहेक अत्याधुनिक टेक्नोलोजीहरू ल्याउने काम भइरहेको छ।

इलेक्ट्रोनिक्समा कस्तो मार्केट रहेको छ ?

रेफ्रिजिरेटर, वासिङ मेसिन, टिभी भन्दा मोबाइलमा धेरै प्रतिस्पर्धा आइसक्यो। तुलनात्मक रूपमा सामसुङमाथि नै छ। वासिङ मेसिनले ५५ प्रतिशत मार्केट ओगटेको छ। फ्रिज पनि। हाम्रो प्रोडक्टहरू सिजनल पनि हुन्छ जस्तै वल्र्ड कपको बेला टिभीको बिक्री ह्वात्तै बढ्छ। वासिङ मेसिन धेरै जाडोमा बिक्छ।

अहिले महिलाहरूलाई काम गर्न कत्तिको सहज छ ?

अब महिलाहरूलाई बाटो खुलिसक्यो। मेरो घरमा मात्रै होइन अन्य संस्थामा पनि महिलाहरू काम गरिरहेका छन्। मैले राम्रो जीवन बाँचिरहेको छु। नयाँ पुस्तालाई अहिले त धेरै सजिलो छ। उनीहरू आफ्नै आइडिया लिएर आउन सक्छन्।
महत्त्वपूर्ण कुरा मेरा लागि त समय मिलाउनु नै हो। भोलि आएर मेरी छोरीले मलाई सञ्चो छैन भन्ली म त समय मिलाएर घर जान्छु। यस्तो वातारण महिला आफैंले बनाउनुपर्छ।

जोन्टामा पनि हुनुहुन्छ हैन ? कस्तो संस्था हो यो ?

हो म जोन्टा अर्गनाइजेसनमा छु। जोन्टा अन्तर्राष्ट्रिय संस्था हो। यसमा आबद्ध हुन १० वर्ष अनुभव हुनैपर्छ। व्यावसायिक हुनैपर्छ। यसमा चाहिँ म उपाध्यक्ष छु। यसको मुख्य लक्ष्य नै महिला सशक्तिकरण र वकालत गर्नु हो।

यो भोलेन्टरी अर्गनाइजेसन हो। म संस्थापक सदस्य नै हो। यो संस्था भारत, बंगलादेश र नेपालमा छ। पशुपतिमा हामीले शौचालय बनायौँ। जोन्टाले महिला सशक्तिकरणकै बारेमा काम गर्छ। राष्ट्रिय सूचना आयोगसँग मिलेर हामीले बुलेटिनहरू निकाल्यौँ। सबैले वितरण गर्नुपर्यो। सूचना सरकारसँग छ। जनचेतना, वकालत गर्नु नै जोन्टाको काम हो।

अहिले त अंग्रेजीमा वितरण गर्ने योजना छ र पछि नेपाली भाषामा पनि हुनेछ। सूचना आयोगले जनजातिमा पनि जानुपर्यो भनेर भनिराखेको छ। हाम्रा लागि चाहिँ त्यो अलि गाह्रो भयो। एउटा फस्ट लेभलको भए पनि त्यो एउटा राम्रो कदम हो।

महिला सशक्तिकरणका लागि केके काम गरिरहनुभएको छ ?

हामीले धेरै तालिमको आयोजना पनि गर्छौं। अन्नपूर्ण होटलमा हामीले ५० जना महिलालाई तालिम दियौं। त्यसमा भएका कम्तीमा ५ जना महिलाले केही काम गरे भने पनि त्यो हाम्रो लागि ठूलो उपलब्धि हुनेछ। हामीले उनीहरूका लागि जीवन परिवर्तन गर्दै छौं। उनीहरूलाई स्वावलम्बी बनाइराखेका छौं।

हामीले सिधैं फन्ड दिने होइन कि उसलाई सिकाउने काम गर्छौँ ताकि उसले आफ्नो भविष्यमा आफैं बनाएर कमाउन सकून्। एउटा परिवारमा महिला शिक्षित छ भने घर नै परिवर्तन हुन्छ।

हामीले नारी दिवसको दिनमा झमककुमारी घिमिरेलाई अभिनन्दन गर्ने कार्यक्रम बनाएका छौं। हामीले मुभी पनि रिलिज गर्न गइरहेका छौं। ३३ महिलाहरू यसमा सदस्य छन्। वकिल, बैंकर सबै छन्।

महिला हुनु नै प्रगतिको बाधक हो ?

वुमन एचिभर २०१७ का लागि त्यसमा निर्णायक छु म। मार्च ८ माचाहिँ महिलाहरूका लागि भनेर एक दिन छुट्याउनु हुँदैन पूरै वर्ष महिलाका लागि हुनुपर्यो। केही राम्रो काम गर्नुपर्यो जसले तपाईंको पूरै जीवन बदलियोस्।

धेरै पुरुषहरूले भन्छन् तिमी महिलाका लागि हरेक दिन नारी दिवस हो। तर उनीहरू महिला भएर हेर्दा पो अनुभूत गर्नेछन्। महिला हुनु कति गाह्रो कुरा हो। एउटा महिलालाई समाजसँग लड्न र त्यसलाई बुझाउन एकदम गाह्रो छ।

महिलालाई सफलता पाउन सजिलो छैन। किनकि यो हेपाइ त पुस्तौंदेखि चलिराखेको छ। सबैतिर संघर्ष छ। महिलाहरूले आफ्नो एजुकेसनको डिग्रीको प्रयोग गर्न सक्नुपर्छ। महिला अग्रसरताका लागि प्रेरणाको स्रोत को हुन सक्छ ?

प्रेरणाको स्रोत भनेको एउटी हजुरआमा पनि हुन सक्छिन्, व्यापारी पनि हुन सक्छिन्, बैंकको सीईओ पनि हुन सक्छिन्। रोल मोडल जो पनि हुन सक्छ। सबैका लागि चुनौती छन् तर सामना गर्न सक्नुपर्छ। काठमाडौंमा बस्दा त तपाईं सकारात्मक हुनैपर्छ। कहिले के पर्छ त कहिले के ? नाकाबन्दी त कहिले के ? त्यही पनि हामी व्यवसाय गरिराखेका छौं। मेरो प्रेम विवाह भएको हो। त्यही भएर पनि सजिलो भएको छ।

LEAVE A REPLY